जमुनाहमा सवारीसाधन सन्चालनमा रोक, कामकाजी मात्र होइन हेर्न जानेका कारण पनि भिड उस्तै


 

नेपालगन्ज ५ चैत : कोरोना भाइरस संक्रमण फैलिन नदिन पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सन्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । नेपाल र भारतर्फका सुरक्षार्कीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साईकलसम्म सन्चालनमा रोक लगाएका हुन ।

नेपालतर्फ चौलिकाचोकसम्म मात्र सवारीसाधन सन्चालन गर्न दिइएको छ । सवारीसाधन सन्चालनमा रोक लगाए पनि आवात जावत भने यथावन छ । भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखिय मात्रामा रहेको छ । नेपालगन्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिकहरु सीमामै रोकिएका छन् ।

भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको छ । मंगलवार नेपालगन्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधवारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेका थिए । अत्यावश्यक काम प्रयोग हुने एम्बुलेन्स जस्ता सवारी साधन भने सन्चालन गर्न दिइने छ ।

सवारी आवागमनमा रोक लगाए पछि जमुनाह क्षेत्रमा मानिसहरुको भिडभाड भने कमी आएको छैन । कामका लागि हिडडुल गर्ने मात्र होइन नाका बन्द भएको हेर्नेको भिड समेत उल्लेखिय मात्रामा छ । ठूलो भिडभाडबाट कोरोनाको फैलिन सक्ने भन्दै नाका बन्द गर्नुपरिरहेका बेला सीमाक्षेत्रमा हेर्नेको भिड समेत बढ्दै छ ।

सवारीसाधन सन्चालनमा रोक लगाएपछि मानिसको आवागमन कम हुने र उनीहरुको स्वास्थ्य परीक्षणको काममा सहजता थपिने नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । बुधवार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

प्रकाशित मितिः     ५ चैत्र २०७६, बुधबार ०९:०३  |