ट्रक व्यवसाय भ्याटमा जान नसक्ने भन्दै महासङ्घले ज्ञापनपत्र बुझायो


नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ट्रक यातायात व्यवसाय मूल्य अभिवृद्धिकरमा जान सम्भव नभएको भन्दै थ्रेसहोल्ड हटाएर बिलबुकको आधारमा दिइने स्थायी लेखा नम्बर प्यान आधारमा कारोबार गर्न दिन माग गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडासमक्ष अर्थ मन्त्रालयमा ज्ञापन पत्र प्रस्तुत गर्दै महासङ्घले भ्याट होइन प्यानका आधारमा कारोबार गर्न पाउन माग गरेको हो ।

‘ट्रक यातायात व्यवसायीले अहिले पनि राज्यलाई अग्रिम कर लगायतका करहरू तिर्दै आएका छन्’, ज्ञापनमा भनिएको छ, ‘यो व्यवसायको प्रकृति मूअकरमा जाने प्रकारको होइन । अन्तराष्ट्रिय प्रचलन हेर्दा पनि छिमेकी मुलुक भारतमा ढुवानीमा मूअकर नलगाइएको अवस्था छ ।’

महासङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘ट्रक यातायात व्यवसाय अस्थायी अथवा चलायमान् प्रकृतिको व्यवसाय भएकाले र व्यवसायीबीच दैनिकजसो गाडी खरिद बिक्री पनि भइरहने हुँदा मूअकर कार्यान्वयन हुन कठिनाइ हुन्छ ।’

ज्ञापनमा भनिएको छ, ‘राज्यलाई टिडिएस बुझाउन ट्रक यातायात व्यवसायी तयार छन् । तर यसलाई व्यवस्थित गर्ने र जुन व्यवसायीले टिडिएस तिरेको छ उसैको नाममा जम्मा हुने कुराको प्रत्याभूति हुन नसकिरहेको स्थिति छ ।

साथै गत आर्थिक वर्षदेखि शुरु भएको टिडिएस प्रणालीमा एकरूपता आउन नसकेको अन्यौलपूर्ण अवस्था पनि कायमै छ । यसमा राज्यले स्पष्ट व्यवस्था गर्नु जरुरी छ ।’

ट्रक यातायात व्यवसायीले एउटै व्यवसाय गरेवापत राज्यलाई धेरै किसिमका कर तिर्नुपर्दा यो व्यवस्था अन्यायपूर्ण र झन्झटिलो भएको गुनासो महासङ्घले गरेको छ ।

ज्ञापनमा भनिएको छ, ‘सडकमा ट्रक गुडाउने व्यवसायीले सवारी साधन कर, अग्रिम आयकर, रोड परमिट, जाँचपास, टिडिएस, सडक मर्मत सुधार र नवीकरण कर गरी ७ प्रकारका कर तिर्न बाध्य हुनुपरेको छ । यस्तो सम्भव नभएको स्थितिमा अझ भ्याटको झन्झट पनि थपिदिने हो भने व्यवसाय गर्ने भन्दा पनि करमै मात्र अल्झिनुपर्ने बाध्यात्मक परिस्थिति बन्न जान्छ ।’

 

प्रकाशित मितिः     ५ चैत्र २०७६, बुधबार १५:३९  |