बाँके ६ चैत : कामदार र कच्चा पदार्थको अभावमा बाँकेका उद्योग,कलकारखाना केही समयका लागि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन जमुनाह नाकामा साईकलदेखि अन्य ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदा बाँकेका उद्योगमा काम गर्ने कामदार आउन सकिरहेका छैनन् । यहाँका अधिकांस उद्योग भारतीय कामदारमा निर्भर छन् ।
एकातिर कामदार अभाव त अर्कोतर्फ कच्चा पदार्थ समेत आउन छाडेपछि उद्योग बन्द गर्ने बिकल्पका बारेमा ठूला उद्योगीबीच छलफल भइरहेको छ । बाँकेको होटल र उद्योगक्षेत्र कोरोना भाइरसका कारण प्रभावित भएका छन् । कच्चा पदार्थको ढुवानी रोकिएको छैन । तर जापान, चिन जस्ता कोरोना प्रभावित देशबाट आउनुपर्ने कच्चा पदार्थको आयात प्रभावित हुँदा यहाँका उद्योगलाई समस्या भएको हो । होटलमा सेवाग्राही आउनै छाडेपछि धेरैले कर्मचारीलाई बेतलवी बिदा दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दल वाहिद मन्सुुरीले निजीक्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको बताउँछन् । उनी भन्छन्,–‘राम्रो हुँदै गएको आर्थिक क्षेत्र कोरोनाका कारण नराम्रो गरी प्रभावित भएको छ ।’ नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघका महासचिव दिला शाहले कच्चा पदार्थको स्टक सकिने अवस्था आएको बताइन । ‘जोसंग कच्चा पदार्थ स्टक छ, उहाँहरुले उत्पादन गरिरहनुभएको छ । नत्र अरु त बन्द गर्ने अवस्था सिर्जना भइसकेको छ ।’– शाहले भनिन् ।
उद्योगी, व्यवसायीले उद्योग बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गरिरहेका छन् । पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सन्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । नेपाल र भारतर्फका सुरक्षार्कीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साईकलसम्म सन्चालनमा रोक लगाएका हुन ।