नेपालगन्ज ६ चैत : कोरोनाको सन्त्रास नफैलिएको भएको कोहलपुर (हवलदारपुर) मा बनेको मानसरोवर होली डे इन सन्चालन हुने तयारीमा थिए ।
चर्को गर्मी बढ्दै गएका बेला बाँकेकै पहिलो पटक सन्चालनमा आएको फनपार्कमा रमाइलो गर्नुको मज्जा नै बेग्लै हुन्थ्यो । तर त्यो मज्जा लिन अब भने केही समय पर्खिनु पर्ने भएको छ ।
बिश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन सरकारले फिल्म हल, मनोरन्जस्थल लगायतका क्षेत्र सन्चालनमा रोक लगाएका कारण बाँकेका बनिसकेका र बन्न क्रममा रहेका गरी तीनवटा फनपार्कको ओपनिङ्ग धकेलिएको छ ।
मानसरोवर होली डे इनका सन्चालक सदस्य बासु भण्डारीले कोरोना भाइरसको प्रभाव फनपार्क सन्चालनमा परेको बताउँदै यसको सन्त्रास हट्ने बित्तिकै सन्चालन हुने बताउँछन् ।
बाँकेमा मानसरोवर होली डे इन प्रालिले हवलदारपुर, वन्डरल्याण्ड प्रालिले राँझा र नेपालगन्ज एक्वा फनपार्कले नेपालगन्ज उपमहानगरपालिका –१४ स्थित भवानीयापुरमा ‘फन पार्क’ निर्माण गरिरहेका छन् ।
मानसरोवर होलीडे पार्कको निर्माण कार्य सम्पन्न भएर पनि पुजाआजा भइसकेको छ । केही दिनभित्र सन्चालनको तयारी भइरहंदा कोरोनाको सन्त्रास फैलिएको छ ।