स्थानीय कृषि उत्पादन बेच्ने कृषक खोज्दै भाटभटेनी, अन्त भन्दा बढि मूल्य दिने


नेपालगन्ज ७ चैत : नेपालगन्जमा फागुन १६ गतेबाट शुरु भएको भाटभटेनी सुपरमार्केटले आर्कषक मूल्यमा स्थानीय कृषकको उत्पादन खरिद गरिरहेको छ ।

यहाँकाको कृषि उत्पादन खरिद गरी विक्री गरिरहेको भाटभटेनीका कारण कृषकहरु बिचौलियाबाट ठगिन जोगिएका छन् । तर भाटभटेनीले पर्याप्त मात्रामा आफ्ना उत्पादन बेच्ने कृषक भेटेको छैन ।

‘यहाँ उत्पादन हुने सबैथोक खरिद गरी विक्री गरिरहेका छौं । कृषक हामीले दिने मूल्यप्रति निकै खुःसी हुनुहुन्छ ।’–भाटभटेनीका प्रबन्धक बिनोद भट्टराईले भने,–‘अहिले हामीसंग खोले सागदेखि हर प्रकारका स्थानीय उत्पादन छन् । हामी यसको मात्रा अझ बढि होस् भन्ने चाहान्छौ । इच्छुक कृषक सम्पर्कमा आउन सक्नुहुन्छ ।’ कृषकलाई सम्पर्कमा आउन भट्टराईले आग्रह गरे ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापनले जनाएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक भट्टराईले बताए । यो संगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आएको हो ।

स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत सम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी समेत दिइएको छ ।

भाटभटेनीका सबै जसो शाखामा स्थानीय उत्पादन किनेर बिक्री हुने गरेको छ । त्यसले कृषकलाई बिचौलियाबाट ठगिनबाट जोगाएको छ । आफ्नो उत्पादन बेच्न चाहाने कृषकले भाटभटेनीमा सम्पर्क गर्न सक्ने भट्टराइले बताए ।

प्रकाशित मितिः     ७ चैत्र २०७६, शुक्रबार ०८:३७  |