नेपालगन्ज ८ चैत : जमुनाह नाकामा सेना सहितको स्वास्थ्यकर्मीले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् । यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा अहिले नेपाली सेनाका स्वास्थ्यकर्मीले समेत हेल्थ डेक्समा सघाइरहेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट २४ हजार २ सय ३२ जना नेपालगन्ज प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा अधिकांस नेपाली छन् ।
जमुनाहस्थित हेल्थ डेक्सका दैनिक नेपालमा भित्रिनेको तथ्यांक राखिन्छ । त्यहाँ उल्लेख भएको तथ्यांक अनुसार चैत ५ गते ७ हजार ७ सय २३, छ गते ८ हजार ७ सय ५० र सात गते ७ हजार ७ सय ५९ जना नेपाल भित्रिएका थिए । सरकारले चैत ५ गतेदेखि नेपाल प्रवेश गनेको अनिवार्य स्वास्थ्य परीक्षण गरेको थियो । त्यसपछि नेपाल भित्रिनेको संख्या अझ बढेको छ । जबकी चैत ४ गते ५ हजार १९ जना र चैत ३ गते ११ जना मात्र नेपाल प्रवेश गरेका थिए ।