बाँकेका सिडिओले भने–‘भ्रममा नपर्नुहोस्,संघीय सरकारले भनेको बाहेक अरु क्षेत्र बन्द हुँदैन’


नेपालगन्ज ८ चैत : बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले विभिन्न निर्णय गर्यो ।

त्यस मध्ये महत्वपूर्ण निर्णय थियो, चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने । यस सम्बन्धमा धेरै भ्रममा परेको पाइएको छ । कुन -कुन पसल र व्यवसाय बन्द हुने हो भन्ने चर्चा चलेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले संघीय सकारले बन्द गर्ने भनेर निर्णय गरेको क्षेत्र बाहेक अरु कुनै पनि क्षेत्र बन्द नहुने स्पष्ट पारेका छन् ।

अर्थपेजसंगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी खड्काले कुन कुन क्षेत्र बन्द हुने भनेर संघीय सरकारले स्पष्ट तोकेकाले भ्रममा नपर्न आग्रह गरेका छन् । साथै उनले अत्यावश्यक क्षेत्र सरकारले किटानी गरिसकेकाले उक्त क्षेत्र बन्द नहुने उल्लेख गरे । कुन कुन क्षेत्र बन्द हुँदैन हेर्नुहोस् ।

नेपाल राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरुः
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. औषधि निर्माण तथा बिक्री वितरण सेवा
१४. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९.मौसम पूर्वानुमान, बाढी, पूर्वानुमान तथा पूर्वसूचना सेवा ।

अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय

प्रकाशित मितिः     ८ चैत्र २०७६, शनिबार २०:०९  |