नेपालगन्ज ९ चैत : कोरोना भाइरस संक्रमण बिरुद्धको पूर्वतयारीका लागि नेकपा बाँकेले आवश्यक परे आफ्ना पार्टी कार्यालय क्वारेन्टाइनका रुपमा राख्न दिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष आईपी खरेलको अध्यक्षतामा आईतवार बसेको कार्यालयको बैठकले क्वारेन्टाइनका लागि नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।
संक्रमण बिरुद्धको अभियानमा साथ दिन पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउन दिन नेकपा बाँके तयार रहेको प्रचार विभाग प्रमुख प्रमोद धितालले जानकारी दिनुभयो ।
प्रचार विभाग प्र्रमुख धितालका अनुसार, बैठकले अहिलेको अवस्थामा स्वयंसेवक आवश्यक परे अनेरास्ववियु र युवा संघलाई खटाउने निर्णय समेत गरेको छ ।
बैठकले चैत्र २१ गतेसम्म पार्टी एवं जनसंगठनका बैठक, भेला पूर्णरुपमा स्थगित गर्ने, जिल्लामा आवश्यक पर्ने सामाग्रीको आर्थिक व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसंग माग गर्ने, सरकारी निर्देशन पूर्णरुपमा पालना गराउन पहल गर्ने निर्णय गरेको प्रवक्ता धितालले जानकारी दिनुभयो ।