नेपालगन्ज १० चैत : भारतबाट नेपाल तर्फ आउँदै गरेका पाँच सय नेपाली नागरिक जमुनाह नाकामा अलपत्र परेका छन् । सरकारले कोरोना संक्रमण रोक्नका लागि भारत र चिनतर्फको नाका बन्द गर्ने निर्णय गरेको थियो ।
सोमबार बिहान रुपैडिया आइपुगेका नेपाली नाका बन्दका कारण घर फर्किन पाएका छैनन् । उनीहरु भोकभोकै छन् । भोक र तनावका कारण थप बिरामी हुने अवस्थामा पुगेका छन् । नाका बन्द हुनु अघि रुपैडियासम्म आइपुगेका नेपाली नागरिकलाई कसरी उद्धार गर्ने र कहाँ क्वारेन्टाइनमा राख्ने भन्ने पूर्वतयारी नहुँदा सीमामा अलपत्र नागरिकको अवस्था दयनिय छ ।
सोमबार बिहान दश बजेसम्म अलपत्र नेपालीका हकमा के गर्ने भन्ने कुनै निष्कर्ष निकालिएको छैन । तर त्यसका लागि पहल भइरहेको छ । सीमामा भोकभोकै परेका नेपालीलाई प्रहरीले आफ्नो पैसाबाट चाउचाउ र पानी दिएका छन् ।
नेपाली पक्षले नाका बन्द भएपछि सीमासम्म आउने नेपालीलाई कसरी उद्धार गर्ने भन्ने पूर्व तयारी नै नगरेको पाइएको छ । त्यहाँबाट उद्धार गरिएका नेपालीलाई राख्न क्वारेन्टाइनको व्यवस्थापन कहाँ गर्ने भन्ने तयारीसम्म छैन । स्थानीय प्रशासन, जनप्रतिनिधिका अगुवा बिहान जमुनाह नाका पुगेर अलपत्र नेपालीको व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।