चम्पालाल बोथरा र पशुपति दयाल मिश्रले क्वारेन्टाइन व्यवस्थापन गर्न ३ सय प्लाइउड सहयोग गरे


नेपालगन्ज १० चैत : नाका बन्दका कारण जमुनाहमा अलपत्र नेपालीको व्यवस्थापन गर्न नेपालगन्जका उद्योगी, व्यवसायी अघि सरेका छन् ।

पाँच सय नेपालीको तत्काल व्यवस्थापन गर्नु कम्ता चुनौतीपूर्ण काम थिएन । यतिसम्म होला भनेर पूर्वतयारी समेत जिल्ला तहमा नभएको पाइएको छ । त्यस्तो अवस्थामा उद्योगी, व्यवसायीले र अन्य क्षेत्रले सहयोग गरेर तत्काल व्यवस्थापनको समस्या टारेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको अनुरोधमा सिखर प्लाइउडका सन्चालक चम्पालाल बोथराले २ सय र ओम प्याई एण्ड फर्निचरका सन्चालक पशुपति दयाल मिश्रले एक सय वटा प्लाईउड सहयोग गरे । उनीहरुले दिएको प्लाईउड अलपत्र नेपालीलाई सुत्न प्रयोग गरिएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस उपलब्ध गरायो भने पानी उद्योग संघले पानी र होटल व्यवसायी संघ बाँके, नेपालगन्जले खानाको व्यवस्थापन गरेको थियो । यति गरेर अलपत्र नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्दा समेत कतिपय पर्खाल नाघेर भागेका छन् ।

प्रकाशित मितिः     १० चैत्र २०७६, सोमबार १६:१२  |