नेपालगन्ज १३ चैत : भारतका विभिन्न ठाउँमा पाँच दिन हिडेर जमुनाह नाकासम्म आइपुगेका १६ जना नेपाली नागरिकको बिचल्ली भएको छ । उनीहरु गुजरातबाट आएका हुन ।
बुधवार राती सीमासम्म आइपुगेका मध्ये चार महिने सुत्केरी समेत छन् । माथीको आदेश कुर्दाकुर्दै दुई दिन उनीहरुले सीमाको दुर्गन्धित ठाउँमा बिताएका छन् ।
सिना नाकामा राखिएको टेन्टमा बस्दै आएका उनिहरुले न राम्रोसँग खान पाएका छन न त सुत्न नै। त्रिपालमुनि बस्दै आएका उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइन गर्न सकिने भएपनि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले अहिलेसम्म केही चासो देखाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले माथिको आदेश प्राप्त नभएका कारण उनीहरुको उद्धार हुन नसकेको बताए । यद्यपी उनीहरुका बारेमा के गर्ने भन्ने छलफल भइरहेको छ । बिहिवार दिउँसोसम्म उद्धार गरिएको छैन ।
दुईदिनदेखी भोकै रहेका उनिहरुलाई बिहिबार ५ नं. प्रदेश संसद कृष्णा केसी नमुनाको पहलमा खाना खुवाईएको छ । भारत गुजरातबाट नेपाल फर्किएका उनिहरुलाई बिहानको खाना खुवाईएको हो ।