नेपालगन्ज १६ चैत : कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनका क्रममा अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन नेपालगन्जमा होमडेलिभरीलाई प्राथमिकता दिइएको छ ।
भिडभाड कम हुने भएका कारण होमडेलिभरी मार्फत घर–घरमा सामाग्री पठाउन सहज हुने अपेक्षा सहित यस्तो गरिएको हो ।
होमडेलिभरी शब्द नयाँ भए पनि यो काम नेपालगन्जका लागि नौला भने होइन । वर्षौदेखि चल्दै आएको चलन हो ।
दूध र तरकारी जस्ता अत्यावश्क सामाग्री घर–घरमा पुर्याए विक्री वितरण गर्ने चलन यहाँ वर्षौदेखि चल्दै आएको छ । ठेलामा टोल–टोलमा तरकारी पुग्छ भने साईकलमा चढेर घर–घरमा दूध र तरकारी जान्छन् ।
हिरमिनियाका कृषक रमेश काँदु भन्छन्,–‘मैले त यस्तो काम वर्षौदेखि गर्दै आएको छु । घर–घरमा तरकारी पुर्याइरहेको छु ।’
गाउँका कृषक दूध र तरकारी विक्री गर्न शहर आउने गर्छन् । एकाबिहानै घरसम्म पुगेर आफ्नो सेवा दिन्छन् । अहिलेको लकडाउनको अवस्थामा त्यही काम प्रभावकारी भएको छ । ठेला र तरकारी, दूध विक्रेतालाई होमडेलिभरी गर्न अनुमति प्रदान गरिएको छ ।
नेपालगन्जमा होमडेलिभरी भाटभटेनीले समेत शुरु गरेको छ । अन्य क्षेत्रमा पनि होमडेलिभरी सन्चालन नभएको होइन । तर लकडाउनको अवस्थामा अत्यावश्यक सामाग्रीको होमडेलिभरी मात्र प्रभावकारी भएको छ ।