
नेपालगन्ज १८ चैत : कोरोना भाइरसले गर्दा बिश्व अर्थतन्त्र तहसनहस भएको छ ।
त्यसबाट नेपाल र अझ पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्ज अछुतो रहने कुरै भएन ।
होटल एवं पर्यटन व्यवसाय नराम्रो गरी प्रभावित भएका छन् भने उद्योगहरु ठप्प छन् ।
देखिने र नदेखिने नोक्सानीको हिसाव किताव गरि साध्य छैन् । यतिबेला नेपालगन्जको निरासामा उत्साह थप्ने लगानीकर्तालाई कोरोनाले निरास पक्कै बनाएको छ ।
बिश्वभरका नागरिक यतिबेला यो विपद्को अवस्था चाँडै अन्त्य भई पुरानै दैनिकी फेरी शुरुवात हुनेमा आशा र बिश्वास व्यक्त गरिरहेका छन् ।
त्यसपछि अर्थतन्त्रले पनि तिब्ररुपमा आफ्नो गति समात्ने छ कामना सहित यहाँ नेपालगन्जको आर्थिक विकासका बारेमा चर्चा गरौं ।
नेपालगन्ज अर्थात देशकै प्रमुख शहर । राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले हेर्ने हो भने यो शहरको महत्व बेग्लै छ ।
पश्चिम नेपालको ‘ट्रान्जिट’का रुपमा स्थापित नेपालगन्जले राजनीतिक आरोहअवरोह व्यहोर्दै आएपनि आर्थिक क्षेत्रमा भने आफुलाई स्थापित गर्न सफल भइरहेको छ ।
राज्य पुर्नसंरचनामा आमूल परिवर्तन हुँदा अन्य ठाउँमा बेग्लै उत्साह थपे पनि नेपालगन्ज भने असन्तुष्ट नै छ । राज्यपुर्नसंरचनाले बाँकेलाई अझ धकेलेको महसुस गर्नेको कमी छैन ।
राजनीतिक शक्ति क्षयकरण हुँदा त्यहाँको आर्थिक क्षेत्र प्रभावित नहुने कुरै भएन ।
नेपालगन्जले अहिले कतै न कतै त्यो महसुस गरिरहेको छ । नेपालगन्ज कोइलाबास हुन्छ भनेर नैराश्यता व्यक्त गर्नेको कमी छैन ।
तर यस्तो निरासाकाबीच नेपालगन्जलाई उत्साह थप्दै करोडौ लगानीको थप्नेहरु पनि छन् ।
ठुला औद्योगिक समूहको आर्कषण बढेको छ ।
प्रादेशिक राजधानी नबन्ने हो भने जिल्लाको सदरमुकाम नेपालगञ्जलाई ‘पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भनेर उठेका आवाजलाई उद्योग सञ्चालनको यस्तो आर्कषणले थप सशक्त बनाउने देखिन्छ ।
यद्यपी कुनै नीतिगत निर्णय बिना उद्योगको संख्या बढेकै आधारमा ‘आर्थिक राजधानी’ बनिहाल्छ भन्ने चाही होइन । त्यसका लागि सुरुवात भने पक्कै भएको छ ।
प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगञ्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थप्ने छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक कुरा भएको बताउँछन् ।
उनी भन्छन्,–‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’
उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए ।

पछिल्लो समय मात्र बाँकेमा उद्योग संचालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग बिभागबाट दर्ता अनुमति लिए ।
ती मध्ये अधिकांस उद्योग सञ्चालनको प्रक्रियामा रहेका छन् ।
पर्यटन क्षेत्रमा उल्लेखिय बृद्धि भएको छ । सिद्धार्थ समूहको पहिलेदेखि उत्साहजनक लगानी भइरहेका बेला सोल्टी, सेन्टल प्लाजा, सिटी प्यालेस, सिग्नेट,गोल्डेज ब्लिज जस्ता होटल भित्रिए ।
देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी सन्चालन भइ उत्साहजनक तरिकाले सन्चालन भइरहेको छ ।
यसले नेपालगन्जको चमक बढाएको छ । रुपैडियाका कारण नेपालगन्जको बजारी सुक्यो भन्ने र केही सम्भावना छैन भन्दै निरासा व्यक्त गर्नेलाई भाटभटेनीले पाठ सिकाएको छ । तीनवटा त फनपार्क नै स्थापना भएका छन् ।
द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष मन्सुरी बताउँछन् ।
स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ ।
बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् ।
बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए ।
‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’
संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ ।
ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ ।
विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ ।
पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।
ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।
यसले आगामी दिनमा नेपालगन्जलाई आर्थिक रुपमा बलियो बनाउने उत्साह थपेको बताउँछन् नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् । कोरोना संक्रमणले निरासा थपे पनि चाँडै यो संक्रमणको अन्त्य हुनेमा उद्योगी, व्यवसायी ढुक्क छन् । ओली जतिसक्यो छिटो कोरोना संक्रमणको अन्त्य भई नेपालगन्जको अर्थतन्त्र पुरानै लयमा फर्किने आशाामा छन् ।

