
नेपालगन्ज १८ चैत : लंगर अर्थात शिख समूदायले निःशुल्क प्रदान गर्ने शाकाहारी भोजन ।
धार्मिक काममा मात्र होइन ठूला संकट वा महामारी पर्दा भोक प्यास मेटाउन लंगर बरदान सावित हुन्छ ।
हो, यही लंगर अहिलेको कोरोना संक्रमणको संकटमा फसेकाको भोक टार्न उपयोगी भइरहेको छ ।
नेपालगन्ज बिपीचोकमा रहेको गुरुद्धारा श्री गुरुनानक सिंह सभाले लंगर मार्फत सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएका नेपालीलाई भोजन खुवाइरहेको छन् ।
मंगलवार बसेको सभाको बैठकले लकडाउन अवधिभर समस्यामा पर्ने नागरिकलाई भोजन गराउने निर्णय गरेको अध्यक्ष राजेन्द्र सिंहले बताए ।
उनका अनुसार, बिहानको भोजन बनाएर नेपालगन्ज उपमवहानगरपालिकाका नगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । नगर प्रहरीले सीमाबाट उद्धार गरिएका नेपालीलाई खुवाइएको थियो ।
‘निःशुल्करुपमा भोजन खुवाएका छौ । शाकाहारी भोजनमा चावल, रोटी, तरकारी लगायत पर्छ ।’ सभाका उपाध्यक्ष हरपाल सिंह भन्छन्–‘दुःखमा परेका नेपाली दाजुभाईको सहयोग गर्न जुटेका छौं ।’


लंगर शिख समूदायमा सयौं वर्षदेखि चल्दै आएको चलन हो । लंगरबाट एकैपटक धेरैलाई खुवाउन सकिन्छ ।
महामारीको अहिलेको जस्तो संकटमा लंगर सबैभन्दा प्रभावकारी हुने निश्चित छ ।
नेपालगन्जमा यस्तो चलन शुरु भएको ४० दशक जति भएको शिख समूदायका अगुवाहरु बताउँछन् ।
श्री गुरुनानक सिंह सभाको कार्यसमितिमा अध्यक्ष राजेन्द्र सिंह, उपाध्यक्षमा हरपाल सिंह, कोषाध्यक्षमा जोगिन्द्र सिंह, सचिवमा अमरजित सिंह र कार्यसमिति सदस्यमा पपिन्दर सिंह, हरनाम सिंह, चरनजीत सिंह, सरेन्द्र सिंह, देवेन्द्र सिंह, हरप्रीत सिंह र गगन सिंह छन् ।
यही कार्यसमितिले लंगर सन्चालनका विषयमा निर्णय लिने गरेको छ ।
अहिलेको संकटमा फसेका नागरिकलाई खाना खुवाउने प्रस्ताव शिख समूदायले राखेको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापमगरले बताइन ।
‘उहाँहरुको प्रस्ताव निकै राम्रो लाग्यो । अहिलेको बिपत्तीमा लंगर निकै प्रभावकारी हुन्छ जस्तो लाग्यो ।’– उपमेयर थापाले भनिन ।
क्वारेन्टाइनमा बसेका नागरिकलाई सरकारले खानाको निश्चित मापदण्ड तय गरेका कारण मापदण्डको तालमेल मिलाएर आगामी दिनमा शिख समूदायसंग छलफल गरिने उपमेयर थापामगरले जानकारी दिइन ।

