नेपालगन्ज १८ चैत : कोरोना संक्रमणको बिरुद्ध जोखिमको प्रवाह नगरी आ-आफ्नो काममा खटिएका नेपालगन्जका प्रहरी र स्वास्थ्यकर्मी एक अर्का बिरुद्ध बाझाबाझ गरिरहेका छन् ।
त्यसमा अझ सामाजिक क्षेत्रमा काम गर्नेहरु पनि थपिएपछि कोरोनाको सन्त्रासमा रहेको नेपालगन्जले अलग्गै विषय पाएको छ ।
बुझ्ने र अरुलाई बुझाउने तहमा रहेकाहरु नै यसरी एक-अर्का बिरुद्ध बाझाबाझमा उत्रिए पछि लकडाउनको अनुशासन पालना गरेर घरमा बसिरहेका नागरिकको मनस्थिती कस्तो बन्यो होला ?
सहजै अनुमान गर्न सकिन्छ ।
लकडाउनका क्रममा प्रहरीबाट दूव्र्यवहार भएको स्वास्थ्यकर्मी र अधिकारकर्मीको दावी छ । यता प्रहरीले त्यसको खण्डन गर्दै फिल्डमा खटिएका प्रहरीको मनोवल खस्काउने गरी काम भइरहेको भन्दै आफु बिरुद्ध लागेको आरोपको ठाडै अस्विकार गरेको छ ।
उसले अहिलेको विषम परिस्थितीमा सबै मिलेर काम गर्नुपर्नेमा प्रहरी बिरुद्ध अनावश्यकरुपमा लान्छना लगाउने काम भइरहेको भन्दै दुःख व्यक्त गरेको छ । ।
सामाजिक क्षेत्रमा काम गर्दै आएका रबिन्द्र कर्ण र बागेश्वरी असल शासन क्लवका अध्यक्ष रमेश सिटौला माथि प्रहरीले केही दिन अघि लाठीचार्ज गरेको थियो ।
उनीहरु दुबै जनाले अत्यावश्यक सामाग्री लिन सडकमा निस्किएका बेला प्रहरीले अनाहकमा कुटपीट गरेको आरोप लगाइरहँदा प्रहरीले भने त्यसको खण्डन गरेको छ ।
डिउटीमा खटिएका प्रहरीलाई तथानाम भनेपछि घटनाले फरक मोड लिएको प्रहरीको दावी छ ।
अहिले नेपालगन्जमा लकडाउन कार्यान्वयनका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी निरन्तर खटिएका छन् ।
लकडाउन कार्यान्वयन प्रभावकारी नभई कोरोनाको जोखिम बढेपछि सुरक्षाकर्मीलाई कडाई गर्न दवाव परेको थियो । कडाई शुरु गरे पछि भने बल प्रयोगको आरोप लाग्न थाल्यो ।
कर्ण र सिटौलाको घटना सेलाउन नपाउँदा चिकित्सक संघ भेरीका अध्यक्ष डा. बिनोद कर्णले एउटा बिज्ञप्ती निकालेर प्रहरीले स्वास्थ्यकर्मी माथि कुटपीट गरिरहेको बताए । हेर्नुहोस् उनको बिज्ञप्ती-
मिति २०७६/ १२/ १६ गते बेलुका करीब ५:३०बजे प्रहरीद्वारा
भेरी अस्पतालमा कार्यरत स्त्री रोग बिशेषज्ञ डा युवराज कार्की माथि ड्युटी बाट फर्कि रहेको अवस्थामा नेपालगञ्जको त्रिभुवन चोकमा मोटरसाइकल नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको घटनाले स्तब्ध बनाएको छ । सोहि क्रममा २०७६/१२/१४ गते दिउँसो २:२२बजे ड्युटी सकाएर फर्किने क्रममा नेपालगन्ज को धम्बोझी चोकमा नेपालगन्ज मेडिकल कलेजमा (नर्सिंग होम) कार्यरत एक जना नर्सिंग स्टाफ लाइ पनि प्रहरीद्वारा दुर्व्यवहार गरिएको कुरा अवगत भएकोछ । दुबै अवस्थामा अाफु स्वास्थ्यकर्मी रहेको र आफ्नो परिचय पत्र देखाउँदा देखाउदै पनि प्रहरीद्वारा दुर्व्यवहार गरेको पाइएको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको covid19 सन्क्रमण मा आफ्नो तथा परिवार कै ज्यान जोखिममा राखेर उपचारमा सम्लग्न स्वास्थ्यकर्मी माथि प्रहरीको दुर्व्यवहारको नेपाल चिकित्सक संघ भेरी शाखाले घोर आपत्ति जनाउदै सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छ र चर्चामा आउनका लागि प्रहरीले गर्ने गरेको यस्तो कार्य रोक्न र सैयम अपनाउन अपिल गर्दछ।
बाके जिल्ला का सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सरकार द्वारा लगाइएको देशब्यापी लकडाउन को कडा पक्षधर हो र यसको पूर्ण रूपमा पालनाको प्रतिबद्धता जाहेर गर्दछ।
डा. बिनोद कर्ण
अध्यक्ष
नेपाल चिकित्सक संघ भेरी शाख ,नेपालगञ्ज
कर्णले बिज्ञप्ती निकालेको भोलीपल्ट अर्थात मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्ला विवादका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रहरीले अत्यावश्यक काममा हिड्ने आमनागरिक, स्वास्थ्यकर्मी कसैलाई पनि हिड्न रोक नलगाइएको बताउँदे प्रहरीको मनोवल गिर्ने गरी अनावश्यक प्रचारबाजी नगर्न आग्रह गरेको छ । हेर्नुहोस् प्रहरीको बिज्ञप्ती-
संवेदनशिल क्षेत्रमा काम गरिरहेकाहरु नै यसरी एक-अर्का बिरुद्ध आरोप प्रत्यारोप गरिरहँदा लकडाउन मानेर घरमै बसिरहेका नागरिकहरु भने दुःखी छन् ।
आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षा दिइरहेका प्रहरी र बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मीबीच भएका विवादलाई कसैले रुचाएका छैनन् ।
अहिले प्र्हरी र स्वास्थ्यकर्मी आमनागरिकका लागि सबैभन्दा ठूलो भरोसाको केन्द्र बनेका छन् ।