खेतको चिसो र लामखुट्टेका कारण जमुनाहमा अलपत्र नेपाली बिरामी पर्न थाले


नेपालगन्ज १९ चैत : समयमै उद्धार नहुँदा जमुनाहमा अलपत्र नेपाली खेतको चिसो र लामखुट्टेका कारण विरामी पर्न थालेका छन् ।

खुल्ला आकाश र चिसो भुईमा डेढ सय नेपाली रात दिन काटिरहे पनि उद्धारमा कुनै चासो दिइएको छैन ।

सीमा अलपत्र नागरिकको उद्धार र व्यवस्थापनमा संघ र प्रदेश नं. ५ सरकारको निर्णय बाझिएको छ ।

प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अलपत्र नागरिकको उद्धार गर्न मानेका छैनन् ।

संघ र प्रदेश सरकारको निर्णय एक आपसमा बाझिएपछि जमुनाह नाकामा डेढ सय बढि नेपाली नागरिक खुल्ला आकाशमुनी बस्न बाध्य भएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले बताइन ।

उनका अनुसार, अलपत्र नेपाली जमुनाह नाकादेखि पश्चिम खेतमा कष्टकर जीवन बिताइरहेका छन् ।

उनीहरुलाई बस्ने र सुत्नका लागि कुनै पनि व्यवस्था गरिएको छैन ।

आपको रुखमुनी सहारा लिएर बसेको बर्दिया जमुनीका दिपक बुढाले अधिकांस बिरामी परेको बताए । चिसो र लामखुट्टेका कारण सुत्नै नसकिने अवस्था छ भने अधिकांसलाई रुखाखोकी र ज्वरोले समातेको छ ।

बुढाले तीनदेखि यतिका ठूलो समूहमा आफ्ना नगारिक बसेको थाहा पाउँदा समेत सरकारका तर्फबाट कुनै प्रकारको स्वास्थ्य परीक्षण नभएको बताए । सीमामा होस् चाहे पायक पर्ने ठाउँमा आफुहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने उनीहरु बताउँछन् । तर यसरी दुःख दिएर नराख्न सुर्खेत पन्चपुरीका राजेश बिकले आग्रह गरे ।

भारतबाट बिभिन्न ठाउँबाट पैदल नै यि नेपाली भारतीय सीमावर्ती बजार रुपैडिया आएका थिए ।

दुई दिन भारतीय भूमीमै रहेका बेला मंगलवार राती भारतीय सीमा सुरक्षा बल एसएसबीले ट्याक्टरमा राखेर जर्बजस्ती नेपाली भूमीमा ल्याएर राखिदिएको छ ।

नेपाली भूमीमा आइसकेकालाई नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर थापामगरको आग्रहमा शिख समूदायको लंगरबाट भोजन खुवाउने काम भइरहेको छ ।

यहाँ रहेका नेपालीहरुले आफुलाई क्वारेन्टाइनमा राखेर उपचार गर्न सरकारसंग माग गरिरहेका छन् । तर सरकारले सुनुवाई गरेको छैन ।

चैत १७ गते बसेको प्रदेश नं५ को मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने निर्णय गरेको थियो ।
ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने गरी भएको निर्णय कार्यान्वयन भएन ।

जमुनाहमा अलपत्र नेपालीलाई खाना र अन्य अत्यावश्यक सेवा प्रवाह गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाकी थापामगरले सीमा अलपत्र नागरिकलाई प्रशासनबाट अनुमति नपाउँदा उद्धार गर्न नसकिएको बताउछिन् ।

खेतको चिसो र लामखुट्टेका कारण जमुनाहमा अलपत्र नेपाली बिरामी पर्न थाले

प्रकाशित मितिः     १९ चैत्र २०७६, बुधबार १३:३४  |