दशगजामा धर्नामा बसे नेपाली : भारतको क्वारेन्टाइनमा बस्न मानेनन्, नेपाल भित्रिन दिनुपर्ने अडान


नेपालगन्ज २० चैत : जमुना नाकामा तीनदिन देखि  अलपत्र नेपालीको व्यवस्थापन चूनौतीपूर्ण बनेको छ ।

कोरोना संक्रमण रोक्न नेपाल र भारतका नाका बन्द छन् भने दुवै देशमा लकडाउन गरिएको छ ।

यस्तो अवस्थामा पनि दुवै देशका नागरिक पैदल नै आआफ्नो देश जाने भन्दै सीमासम्म आइपुगेका छन् ।

उनीहरुलाई आफ्नो देश प्रवेशमा भने रोक लगाइएको छ । बिकल्पमा नेपालमा रहेका भारतीय नागरिकलाई नेपाल र भारतमा रहेका नेपाली नागरिकलाई भारतले हेर्ने सहमति भएको छ ।

सोही सहमति अनुसार, जमुनाहमा अलपत्र १ सय ८१ जना नेपाली नागरिकलाई भारतले क्वारेन्टाइनमा राख्ने भन्दै लैजान खोजे पनि मानेका छैनन् ।

बरु उनीहरु दशगजामै बसेर भोक हड्तालमा बसेका छन् । बुधवार रातीको खाना समेत खाएनन् ।

बिहान भने सम्झाइ बुझाई गरेपछि खाना खाएको जमुना प्रहरीका इन्चार्ज माधव रिजालले बताए ।

उनका अनुसार, नेपाली नागरिकले आफ्नो देशमै जाने अडान लिदै भारतको क्वारेन्टाइनमा नबस्ने जिद्धि गरेका छन् । ए

सएसबीले राम्रो व्यवस्थापन गर्ने बचन दिएको बताइएको छ ।

तर केही दिन अघि मात्र ट्याक्टरमा कोचेर एसएसबीले नेपाली सीमामा ल्याएर अलपत्र छाडेका कारण नेपालीहरु भारतसंग झस्किएका छन् ।

स्रोतका अनुसार बुधवार मात्र बाँकेका प्मुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली लगायत र भारत बहराइचका जिल्ला अधिकारीबीच ८५ जना नेपालीलाई भारतीय क्वारेन्टाइनमा राख्ने र बाँकी नेपालीलाई नेपालगन्जको क्वारेन्टाइनमा राख्ने सहमति बनेको थियो ।

तर गृहमन्त्रालय मार्फत अहिले नेपालीलाई प्रवेश गर्न दिए नाकाबन्द र लकडाउन कार्यान्वयनका खुकुलो बन्दै जाने र त्यसले भयावह निम्तिन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई कसैलाई प्रवेश नदिन निर्देशन दिएको बुझिएको छ ।

त्यसपछि सीमामा अलपत्र नेपालीले नत भारतको क्वारेन्टाइनमा बस्न मानेका छन् नत नेपालका तर्फबाट कुनै व्यवस्थापन नै गरिएको छ । यही अन्यौलताका बीच अलपत्र नेपालीको दैनिकी कष्टकर बनेको छ ।

स्रोतका अनुसार, प्रहरीले नेपाली भूमीमा पर्ने एकिकृत भन्सार जाँच चौकी निर्माणस्थलमा टेन्ट राखेर बस्न नदिने गरी बिकल्प सोचिरहेको छ ।

तर त्यसरी अलपत्र नेपालीलाई राख्दा कोरोना संक्रमण हुने भन्दै जयसपुरका स्थानीयले बिरोध गर्ने आशंका गरिएको छ ।

प्रकाशित मितिः     २० चैत्र २०७६, बिहीबार १०:४५  |