जमुनाहमा अलपत्र नेपालीको उद्धार,अस्थायी क्वारेन्टाइनमा पुगेपछि दुःख बिर्सिए


नेपालगन्ज २० चैत : जमुनाह नाकामा तीन दिनदेखि अलपत्र १ सय ८१ जना नेपालीको बिहिवार सहज व्यवस्थापन गरिएको छ ।

दशगजासंगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्ट सहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा अलपत्र भएकाहरुलाई राखिएको छ ।

कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लकडाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमवार ती नेपालीहरु जमुनाहसम्म आएका थिए ।

भारतमा रहेका नेपालीलाई भारतले र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्नुपर्ने सहमति बनेको भए पनि अलपत्र नेपालीहरुले भारतीय क्वारेन्टाइनमा नबस्ने अडान लिदै दशगजामा धर्ना दिएका थिए ।

नेपाल तर्फ पनि ल्याउन नमिल्ने र भारतमा पनि नबस्ने भएपछि अलपत्र नेपालीको व्यवस्थापन अनिश्चित बनेको थियो ।

उनीहरु खुल्ला आकाशमुनी दिन रात काटिरहेका थिए । स्थानीय प्रशासन माथि यस्तो अवस्थामा रहेका नेपालीको उद्धार गर्नुपर्ने चौतर्फी दवाव थियो ।

दवावकै बीच बुधवार बिहान नेपाली सेनाको चार नं. वाहिनीले दुई घण्टामा ४५ टेन्ट सहितको क्वारेन्टाइन निर्माण गरेको थियो । सोही टेन्टमा अलपत्र नेपालीहरुलाई राखिएको छ ।

सूविधा सम्पन्न टेन्टमा राखिएपछि उद्धार गरिएका नेपालीहरु खुःसी देखिन्थे । उनीहरुले आफुहरुलाई घरमै पुगेझैं महसुस भएको प्रतिक्रिया दिए ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मीले उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । खाना व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गर्दै आएको छ । सरसफाई र शौचालयको व्यवस्थापन पनि भएको छ ।

सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । सीमामा अलपत्र नेपालीको व्यवस्थापनमा सुरु देखिनै सक्रिय नेपालगन्जकी उपमेयर उमा थापामगरले अस्थायी क्वारेन्टाइनमा राखिएपछि राहात महसुस भएको बताइन । उद्धार पछि नेपाली नागरिकको व्यवस्थापन सहज भएको उनले जानकारी दिइन ।

प्रकाशित मितिः     २० चैत्र २०७६, बिहीबार १८:३३  |