बाँके २२ चैत : राहात वितरण गर्ने नाममा जथाभावी भिडले बाँकेमा कोरोना संक्रमणको जोखिम बढाएको छ ।
लकडाउनका कारण धेरै मानिसहरु घरभित्र नै रहेपनि राहात वितरण गर्ने भन्दै बाहिर निस्किरहेका छन् ।
सर्वसाधारण मात्र होइन लकडाउन कार्यान्वयन गर्न बसेका सरोकारवाला निकायका अगुवा नै भिड जम्मा पारिरहेका छन् ।
क्वारेन्टाइन त यतिबेला फोटो खिच्ने सेल्फी प्वाइन्ट जस्ता बनेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले यसलाई रोक्न सकिरहेको छैन् ।
भिडभाडपूर्ण राहात वितरणका नागरिक अरु त अरु थियो क्वारेन्टाइनमा बसेका र राहात लिन आउने आफै वाक्क भइसकेका छन् ।
धेरै भिडभाड गर्दा कोरोना सर्न सक्छ भन्दे लकडाउन गरिएको थियो ।
तर अहिले अनावश्यक भिडभाड गर्दै भइरहेका राहात वितरणले त्यसको जोखिम बढाएको सर्वसाधारणहरु बताउँछन् ।
जसका कारण लकडाउन औपचारिकतामा सीमित भएको छ । बिपद्का बेला सहयोग हातहरु अनिवार्य भए पनि उनीहरुले सामाजिक दुरी कायम गर्न सकिरहेका छैनन् ।
कस्ता छन् बाँकेका क्वारेन्टाइन ?
सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो ।
तर स्थानीय तहले तयार पारेका क्वारेन्टाइन मापदण्ड अनुसारका छन् त ?
जवाफ खोज्न टाडा जानै पर्दैन । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा महेन्द्र बहुमुखी क्याम्पसले निर्माण गरेको क्वारेन्टाइन अवस्था हेरे पुग्छ ।
सरकारले मापदण्ड तयार गरेकै दिन चैत १४ गते क्याम्पस क्वारेन्टाइनको कहाली लाग्दो तस्विर सार्वजनिक भयो, जहाँ दश जनालाई राखिएको थियो । उनीहरुले नै क्वारेन्टाइनको व्यवस्थापनमा भएको चरम लापरवाही सार्वजनिक गरिदिए ।
सिमेन्टको फर्स माथि एउटा प्लाईउड र म्याटको भरमा दिन रात बिताए ।
शौचालय देखि खाने बस्ने व्यवस्थामा ख्याल नगरिदिदा कोरोनाले भन्दा क्वारेन्टाइनमा मर्ने अवस्था आएको त्यहाँ बस्नेहरुको गुनासो थियो ।
जमुनाह नाकाबाट आउने नागरिककलाई क्वारेन्टाइन गरेर राख्नुपर्ने जिम्मेवारी समेत बोकेको नेपालगन्जमा क्वारेन्टाइन व्यवस्थापनमा अदुरदर्शी सोंच स्पष्ट देखिन्छ ।
क्वारेन्टाइनको त्यस्तो अवस्था सार्वजनिक भए पछि उनीहरुको उद्धार गरेर सुर्खेतरोडस्थित होटल सार्मथ्य इनमा राखिएको थियो । अहिले भने क्याम्पसको क्वारेन्टाइन व्यवस्थापन गरिएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले बताइन ।
उनले भनिन्,–‘आपत बिपदका बेला के गर्ने के नगर्ने भन्ने निर्णय गर्दागर्दै त्रुटिहरु देखिने रहेछन् । अहिले हामीले सबै कुरामा ध्यान पुर्याएका छौं ।’
संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ निकायले उनलाई स्वास्थ जाँच गरि संक्रमणको
लक्षण छ छैन भनेर हेर्न र लक्षण नदेखिए त्यस्तालाई यस्तो व्यवस्थित ठाउँमा राखिन्छ जहाँ बाहिरी मान्छेसँग निकट सम्पर्क नहोस् ।
इन्क्युवेसन अवधि सम्मका लागी उक्त ब्यक्तिलाई कडा निगरानिमा निश्चित समयसम्म राखिने स्थानलाई नै क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन सफा र सुग्घर हुनुपर्ने हो । बिरामी जोगाउन तयार पारिएका क्वारेन्टाइन नै अव्यवस्थित भए कोरोना संक्रमण बिरुद्धको लडाई कसरी जित्न सकिएला ?
कोरोनाको सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरिरहेका छन् । खजुरा गाउँपालिकाले आफ्नै पहलमा वडा नं १ मैटहवा माविमा क्वारेन्टाइन निर्माण गरेको छ ।
गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले आधारभूत मापदण्ड पुरा गरी क्वारेन्टाइन निर्माण गरिएको बताउँछन् । खजुरामा इन्टरनेट सूविधा सहितको क्वारेन्टाइन बनाइएको छ ।
यसैगरी बाँकेका कोहलपुर नगरपालिकाले कृषि विकास बैंकको तालीम केन्द्र पिपरीमा, बैजानाथ गाउँपालिकाले सबै वडाका विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।
नरैनापुर र डुडुवा गाउँपालिकाले क्वारेन्टाइनस्थल निर्माण गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
जानकी गाउँपालिकाले २५ शैयाको क्वारेन्टाइन निर्माण गर्दै छ । यस्तै, लायन्स डेन्टल अस्पतालमा २५ तथा नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर शिक्षण अस्पतालमा ६/६ श्ययाको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ ।
प्रदेश सरकारको पहलमा खजुराको क्यान्सर अस्पतालमा आइसोलेशन कक्ष निर्माण भइरहेको छ । फोकल पर्सन नरेश श्रेष्ठले क्वारेन्टाइन मापदण्ड अनुसारको बनाउनुपर्ने र त्यसका लागि आवश्यक सूझाव दिइएको बताए ।
उनी भन्छन्,–‘क्वारेन्टाइन नै नराम्रो भए त बिरामी नभएका पनि बिरामी हुने अवस्था आउँछ । त्यस्तो नहोस् भन्नेमा सचेत छौं । ’
‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ ले क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ ।
मापदण्डमा त्यहाँ रहेका शंकास्पद व्यक्ति र त्यसको व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्न हुने र नहुने कामको बारेमा उल्लेख गरिएको छ । शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्ने बताइएको छ ।
क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने तोकिएको छ । सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ ।