काठमाडौं । सरकारले लकडाउनलाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ । आज(शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ।सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय पनि गरेको खतिवडाले बताए ।
यसैगरी पछिल्लो समय कोरोना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टमार्फत परीक्षण गर्ने निर्णय गरेको उनले बताए। ती जिल्लामा सङ्क्रमण थप फैलन नदिन आशङ्का लागेका सबैको नमुना परीक्षण गरिने उनले बताए।
स्वास्थ्यकर्मीको मनोबल बढाउन उनीहरुलाई स्वास्थ्य सुरक्षाका उपकरणहरु यथाशक्य चाँडो उपलब्ध गराउनेलगायत निर्णयसमेत भएको प्रवक्ता खतिवडाले जानकारी दिए। यसअघि सरकारले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्तालगायत सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।
सरकारले लकडाउनको समय थप गर्नेेबारे कुनै निर्णय गरेन । यसअघि सरकारले चैत्र ११ देखि लकडाउन गर्न सुरु गरेकोमा फेरि एकहप्ता समय थप गर्दै २५ गतेसम्म लकडाउनको समय पुर्याएको थियो ।