नेपालगन्ज २३ चैत : कोरोना बिरुद्ध सक्रिय रहेका बाँकेका सरकारी संयन्त्रण र स्वास्थ्य निकायबीच सूचना आदानप्रदानमा समन्वय अभाव देखिएको छ ।
नेपालगन्ज मेडिकल कलेजले शनिवार भारतको राजधानी दिल्लीस्थित धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगन्जका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको सूचना सार्वजनिक गर्यो ।
तर आईवारसम्म नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालय बाँकेले त्यसका बारेमा थाहै पाएनन् ।
दिल्लीको निजामुद्धिन स्थित तब्लीगी मरकज जमातमा सहभागि भएकाहरु धेरै कोरोना संक्रमण देखिएको छ । त्यहाँ सहभागि हुन गएका बिभिन्न देशका नागरिक मध्ये नेपालगन्जका तीन जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको थियो ।
उनीहरुलाई नेपालगन्ज मेडिकल कलेजको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो । दिल्लीबाट आएकाहरुमा कसैमा कोरोनाको लक्षण थिएन भने सामान्य ज्वरो समेत नभएपनि नमुना परीक्षण गरिएको थियो ।
नेपालगन्ज मेडिकल कलेजले यि बाहेक अन्य नूमना समेत पठाएको थियो ।
ती सबैको नतिजा नेगेटिभ आएको छ । यो सूचना डा. असिम किदवाईले सामाजिक सन्जाल फेसबुकमा शेयर गरेका छन् भने नेपालगन्ज मेडिकल कलेजले सूचना नै जारी गरेको छ ।
उक्त सूचनाका विषयमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालय बाँके असमन्जसमा देखिए ।
कुन -कुन व्यक्ति र कहाँको क्वारेन्टाइनका व्यक्तिको रिर्पोट आएको भन्दै सोधिखोजी शुरु गरे ।
जनस्वास्थ्यका फोकल पर्सन नरेश श्रेष्ठले मेडिकल कलेजले आफुहरुकै माध्यमबाट स्याम्पल परीक्षणका लागि पठाएको भए पनि रिर्पोट सार्वजनिक भएको विषयमा जानकारी नभएको बताए । यद्यपी पाँच जनाको रिर्पोट नेगेटिभ आएको बताए ।
उनले जिल्लामा आफुहरु मार्फत सूचना सार्वजनिक हुने भएकाले अन्य स्वास्थ्य निकायले सार्वजनिक गरेको सूचनाका बारेमा थाहा नभएको बताए । यद्यपी शनिवार सार्वजनिक भएको सूचनाका बारेमा आफुले बुझ्ने उनको भनाई छ ।