नेपालगन्ज २५ चैत : कैलपाल हस्पिटल एण्ड कलेज नेपालगन्जले भेरी अस्तपाललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ) मंगलवार हस्तान्तरण गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई २० थान पिपिई हस्तान्तरण गरे । कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचारमा पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीका लागि पिपिई नभई नहुने सुरक्षा कवच हो ।
पिपिई बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री हो ।
तर कोरोना संक्रमणको जोखिम उच्च रहेको नेपालगन्जकै स्वास्थ्य निकायमा यसको अभाव भइरहेका बेला कैलपालले सहयोग गरेको हो ।
प्रबन्ध निर्देशक सन्जय सिंहले कोरोना बिरुद्ध उपचार गरिरहेका स्वास्थ्यकर्मीका लागि नभई नहुने साधनका रुपमा रहेको पिपिई सहयोग गरेको बताए ।
कैलपालले रु १ लाख ५० हजार मूल्य पर्ने पिपिई हस्तान्तरण गरेको हो ।
यो बिश्व स्वास्थ्य संंगठनबाट मान्यता प्राप्त छ भने यस्तो पिपिई बाँकेका स्वास्थ्य संस्थामा अभाव छ । पिपिई सहयोग प्रदान गरेकोमा भेरी अस्पतालका मेसु थापाले धन्यवाद दिदै यसले स्वास्थ्यकर्मीलाई हौसला थपेको बताए ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य क्षेत्रमा पिपिईको माग पनि बढेको छ ।
तर, नेपालमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक, नर्स र अन्य स्वास्थ्य सेवामा कार्यरत कर्मचारीका लागि पिपिई अभाव भइरहेको छ ।
संक्रमण फैलिन नदिन पिपिई अत्यावश्यक सामग्री हो ।
सामान्यतया बिरामीको हेरचाह गर्ने चिकित्सक, नर्सलगायत सामाजिक दूरी कायम गर्न नसक्ने व्यक्तिका लागि पिपिई अत्यावश्यक हुन्छ ।
बजारमा पिपिईको अभाव हुनुले मात्रै विश्वले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै पिपिईको सही सदुपयोग गर्न आग्रह उसले गरेको छ ।