खजुरा २५ चैत : बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण सुरु गरेको छ ।
गाउँपालिकाद्धारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाउन थालिएको छ ।
खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन सुरु गरिएको हो ।
१६ सय ९८ जना परिवारलाई राहत वितरण गरिने कार्यक्रम अन्तरगत आज खजुरा गाउँपालिकाले वडास्तरबाट वितरण सुरु गरेको हो ।
३,४,५ वडामा राहत पठाईसकिएको खजुरा गाउँपालिकाका सुचना अधिकारी दिल बहादुर पौडेलले जानकारी दिए ।
यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरि प्रक्रिया मिलाइएको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताए ।
उनका अनुसार यसरी राहतवितरण गर्दा सामाजिक दुरी कायम गर्दे एक पटकमा १० परिवारलाई वितरण गरिने गरि व्यवस्था मिलाइएको जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीका अनुसार राहत वितरणका लागी यस अघिनै राहत वितरण मापदण्ड पारित गरेको बताए ।
गाउँपालिकाले सहयोगी दातालाई अनावश्यक भिडभाड नगर्न र तस्बिर नखिच्न् अनुरोध गरेको छ ।