नेपालगन्ज २८ चैत : प्रदेश नं. ५ सरकारले कोरोना भाइरस संक्रमण बिरुद्ध निर्माण गरेको कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख आर्थिक सहयोग गरेको छ ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भाटभटेनीका तर्फबाट व्यवस्थापक बिनोद भटट्राईले बुधवार २५ लाखको चेक हस्तान्तरण गरे ।
संघीय सरकारलाई रु १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो ।
मुख्यमन्त्री पोखरेलले प्राप्त सहयोगले कोरोना संक्रमणका बिरुद्ध लड्नका लागि हौसला प्रदान गरेको बताए । प्रदेश सरकारले कोरोना भाईरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारकोषमा निर्माण गरेर सहयोग जुटाइरहेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
“सरकारले अघि सारेको यो योजनामा भाटभटेनीका तर्फबाट एक करोड सहयोगको प्रतिवद्धता व्यक्त गरेको छु,” गुरुङले भने ।
भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध गराइरहेको छ ।