काठमाण्डौबाट बाहिर जान दिने निर्णय भएको छैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल


२७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

‘भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

प्रकाशित मितिः     २७ चैत्र २०७६, बिहीबार १८:१५  |