जानकीमा राहत बितरण सुरु


जानकी । बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमबारदेखि राहत वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वडा नं. ४ खजुराखुद्र्ध र वडा नं. ५ बेलहरीमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई आजबाट राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार, वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गर्न थालिएको छ ।
वडा नं. ६ गनापुर, वडा नं.३ इन्द्रपुर, वडा नं.२ बेलभार र वडा नं.१ साईगाउँमा भोली मङ्गलवारबाट राहत वितरण गर्ने तयारी भइरहेको उपाध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । आज राहत प्याकिङको काम भईरहेको छ । सामाजिक दूरी कायम गरी व्यवस्थित तरिकाले राहत वितरण कार्य भईरहेको उपाध्यक्ष धितालको भनाई छ ।
गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । राहत प्याकेजमा ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।
वडापालिकाले सङ्कलन गरेको अभिलेख अनुसार, वडा नम्बर १ मा ३ सय ३४, वडा नम्बर २ मा ६ सय ५८, वडा नम्बर ३ मा ८ सय ६१, वडा नम्बर ४ मा ४ सय तीन, वडा नम्बर ५ मा ४ सय २० र वडा नम्बर ६ मा ३ सय ३६ घरपरिवार गरि जम्मा ३ हजार १२ घरधुरीलाई राहत बितरण गरिने छ ।
गाउँपालिका अध्यक्ष यादवले विवादरहित तरिकाले वास्तविक प्रभावितलाई राहत वितरण गर्नको लागि अभिलेख सङ्कलन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्ड अनुसार राहत बितरण गर्न लागेको जानकारी दिनु भयो ।
उहाँका अनुसार, प्रत्येक वडापालिकाले कार्यविधिको मापदण्ड अनुसार आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदुरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्ने कार्य भईरहेको छ ।
सोमबार बिहान वडा कार्यालयबाट गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुरी गरेर खाने ५२ परिवारलाई राहत वितरण भएको वडा नं. ४ का वडाध्यक्ष विश्रामकुमार वर्माले वताउनु भयो । साँझ र विहानमा सामाजिक दूरी कायम गरी क्रमिक रूपमा राहत वितरण गरिने उहाँको भनाई रहेको छ ।

प्रकाशित मितिः     ८ बैशाख २०७७, सोमबार १८:५६  |