नेपालगन्ज १४ बैशाख : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले गुल्मीमा सन्चालन गरेको सिद्धार्थ बायोटिका प्रालि एउटा उदाहरणी कृषि फर्मका रुपमा स्थापित भएको छ । अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य सहित तीन वर्षअघि उक्त फर्म सन्चालन ल्याइएको हो । अहिले त्यहाँ बोटमा कफी लटरम्म फलेका छन् ।
रहर लाग्दो तरकारी उत्पादन भएका छन् भने ३५ वटा गाईले दूध दिइरहेका छन् । लकडाउनको समयमा सिद्धार्थ समूहका सन्चालकहरु पनि यतिबेला कृषि कर्ममा व्यस्त छन् ।
हस्पिटालिटी क्षेत्रमा २२ वर्ष लामो इतिहास बनाएको सिद्धार्थ समूह देशका प्रमुख ठाउँमा पुगिसकेको छ । तर कोरोना संक्रमण रोक्न सरकारले लागू गरेको ‘लकडाउन’ का कारण अन्य क्षेत्र जस्तै सिद्धार्थको ती होटल एवं रेष्टुरेन्ट बन्द भए पछि सन्चालकहरु भने गाउँमा रहेको कृषी फार्ममा कामकाजमा व्यस्त छन् ।
सिद्धार्थ समूुहले गुल्मीमा तीन वर्षदेखि सिद्धार्थ बायोटिका प्रालि सन्चालनमा ल्याएको छ । जहाँ यतिबेला चेयरमेन लक्ष्मण न्यौपाने, सिइओ कृष्ण न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु (बुटवल) महेन्द्र न्यौपाने, (नेपालगन्ज) केशव न्यौपाने लगायत परिवारका सदस्यहरु कृषि काममा व्यस्त छन् । ‘कृषि काममा लकडाउनको सदुपयोग भइरहेको छ ।’– केशव न्यौपाने भन्छन्,–‘सिद्धार्थको नाममा तीन वर्षदेखि यो बायोटिका सन्चालनमा छ । यहाँ कफीदेखि दूधसम्म उत्पादन हुन्छ ।’
सिद्धार्थ बायोटिकामा मुख्यत कफी उत्पादन हुने गरेको छ । कफीको पच्चिस सय बोट रहेका छन् । यतिबेला लटरम्म फलेका छन् । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो ‘एस–क्याफे’ को हरेक ‘आउटलेट’ बाट स्वदेशमा उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद पस्किदै आएको छ ।
त्यसका लागि गुल्मी लगायतका पहाडी जिल्लामा अर्गानिक कफी खेती सुरु गरिएको हो । ‘गाउँमा कफीको खेती र शहरमा क्याफे हाम्रो भिजन हो,’ –सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटाका सिइओ कृष्ण न्यौपानेले भन्छन् । सानैदेखि कफीको बोटमा हुर्किएकोले कफीको बोट नौंलो नभएको न्यौपानले बताए । गुल्मी जिल्ला कफी उत्पादनका क्षेत्रमा देशभर परिचित छ । त्यहाँ पहिल्यैदेखि खेती हुँदै आएकोमा सिद्धार्थले त्यसलाई आधुनिकीकरण गर्न सफल भएको हो ।
सिद्धार्थ बायोटिकामा ३५ बढि गाई छन् । त्यहाँ दूध उत्पादन हुन्छन् भने अर्गानिक तरकारी खेती गरिन्छ । ‘यहाँ उत्पादन भएको हरेक कुरा सिद्धार्थका होटल र रेष्टुरेन्टमै जान्छन् । बढि भयो भने अरु ठाउँमा जान्छन् ।’– न्यौपानेले भने । आफ्ना सेवाग्राहीलाई बिशुद्ध अर्गानिक तरकारी खुवाउने लक्ष्य सिद्धार्थ बाटोटिकाको रहेको छ ।
यसरी सिद्धार्थले शुरु गरेको कृषि फार्म अरुका लागि पनि उदाहरणीय बन्न सकेको छ । सिद्धार्थका सन्चालकहरु चाँडै कोरोना सन्त्रासको अन्त्य भई पुरानै दिन फर्किनेमा आशावादी छन् । सिइओ कृष्ण न्यौपाने भन्छन्, –‘अझ नयाँ उत्साहका साथ पुराना दिनहरु फर्किने कामना गरिरहेका छौं ।’