नेपालगन्जमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने


-वसन्तराज उप्रेती/बिजमाण्डूबाट

काठमाडौं। नेपाल वायु सेवा निगमको चिनियाँ जहाज (वाइ-१२ ई) तत्कालका लागि उडान अयोग्य ठहरिएको छ। कोभिड-१९ संक्रमणको शंका गरिएका बिरामीको स्वाब लिन चिकित्सक टोली लिएर गत चैत १५ मा नेपालगंज पुग्दा उक्त जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ४०र४५ मिटर पर घाँसे मैदानमा पुगेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअनुसार उक्त जहाजको इन्जिनबाहेकका सबै संरचना क्षतिग्रस्त भएको छ। घटनाका बेला मानवीय क्षति नभए पनि जहाजका मुख्य पार्टपुर्जा नै काम नलाग्ने अवस्थामा रहेको प्राधिकरणका एयर वर्दिनेस उपनिर्देशक प्रभाकरचन्द्र मल्लिकले बताए।

‘यो जहाज मर्मत हुने सम्भावना निकै कम छ, उनले भने, -मर्मत गरिएपनि निगमले एउटा यस्तै जहाज नै खरिद गर्न सक्ने लागत व्योहोर्नुपर्ने देखिएको छ।’ इन्जिनलाई कुनै क्षति नपुगे पनि जहाजको विङ (पखेटा), सेन्ट्रल बडी पार्ट, संरचना पूर्ण रूपले क्षतिग्रस्त रहेको उपनिर्देशक मल्लिकले जानकारी दिए।

चैत १५ गते निगमका वरिष्ठ क्याप्टेन केबी लिम्बु र को-पाइलट महेश पाण्डेले (एन-एकेयु )कलसाइन जहाज उडान गरेका थिए। कोरोना संक्रमण भएको आशंका गरिएका बिरामीको परीक्षणको लागि स्वाबका नमुना संकलन गर्न गएको यो जहाज त्यसबेला सामान्य घटनामा परेको मानिएको थियो। प्राधिकरणले अध्ययन गर्दा उडान गर्न नै नसकिने गरी क्षति भएको पाइएको छ।

यो जहाजले तीन जना चिकित्सकको टोली लिएर काठमाडौं-नेपालगंज उडान गरेको थियो। चार महिना अगाडि यही जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा जहाजको कन्ट्रोल कलुम (टायरमा कसिएको बोल्टसँगै जडान गरिएको तार) चुँडिएको निगमको इन्जिनीयरिङ विभागले जनाएको छ। ‘चार महिना अगाडि यात्रुसहित अवतरण गर्दा यो जहाजको कन्ट्रोल कोलुमै चुँडिएको थियो। यो विमानमा हुने रेयर समस्याका रूपमा मानिन्छ,’ इन्जिनीयरिङ विभागका एक कर्मचारीले भने।

पाँच वर्षअघि चीन सरकारले दुईवटा (एउटा एमए-६० र एउटा वाइ-१२ इ) जहाज अनुदानमा दिएर चारवटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो। जहाज नेपाल ल्याउनेवित्तिकै एकपछि अर्को समस्या झेल्दै आएको निगमले जहाज बिग्रिँदा पाटपुर्जासमेत पाउन कठिनाई हुँदै छ। चीनबाट चारवटा १८ सीट क्षमताको वाई–१२ जहाज र दुईवटा एमए(मोडर्न आर्क) ६० गरी ६ वटा जहाज ल्याएको थियो।

प्रकाशित मितिः     १६ बैशाख २०७७, मंगलवार ०८:२८  |