नेपालगन्जमा एसके डेरीद्धारा मोही विक्री शुरु


नेपालगन्ज १६ बैशाख :  नेपालगञ्ज–२२, पुरैनीमा नौ करोड रुपैयाँको लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ले मोही बजारमा ल्याएको छ । प्राय डेरी उद्योगले दूध, दही विक्री वितरण गर्ने भए पनि उक्त डेरी उद्योगले भने मोही समेत बजारमा विक्रीका लागि पठाएको छ ।

मंगलवारदेखि मही विक्री शुरु गरिएको उक्त उद्योगले जनाएको छ । गर्मी महिनामा मोही निकै रुचाइन्छ । बाँकेको व्यवसायिक क्षेत्रमा पहिलेदेखिनै सक्रिय रहेका सरोज पाण्डेले सो उद्योग सञ्चालनमा ल्याएका हुन ।

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सो उद्योगको उदघाटन गरेका थिए ।

साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको सो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका संचालक सरोज पाण्डेले बताए ।

‘उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको छ । नेपालगञ्जमा गुणस्तरीय दुग्ध पदार्थ विक्री गरिरहेको उद्योगले जनाएको छ । दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्च्स्तरीय मेशनरी सामाग्रीको प्रयोग गरेका छन् । एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा ल्याएको छ । सो उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ ।

‘हामी दूध मात्रै होइन अन्य वस्तु समेत उत्पादन गर्नेछौ,’ पाण्डेले भने, ‘प्रदेश ५ र ६ मा अहिले भारतबाट आयात भएर आउने दुग्ध पदार्थ बिक्री भइरहेको छ । हाम्रो उद्देश्य ती आयातित वस्तु प्रतिस्थापन गर्नु पनि हो ।’ सञ्चालक पाण्डेका अनुसार उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिईएको छ । दूध संकलन गर्नु अघि त्यहाँका किसानलाई विशेष जनचेतना जगाउने कार्यक्रम पनि गरिरहेको बताए ।

प्रकाशित मितिः     १६ बैशाख २०७७, मंगलवार १६:०५  |