पशुपालन र कृषिले रोक्यो ‘कालापार’


सुर्खेत : गुर्भाकोट नगरपालिका–४ का ५० वर्षिय रामबहादुर ओलीको आधा उमेर कालापार (भारत) गएरै बित्यो । गाउँमा इलम गर्ने उपाय नभएपछि उनी सानै उमेरदेखि कालापहाड हानिएका थिए । उमेर ढल्कियो गाउँको परिस्थिती पनि फेरियो ।

गाउँमा आएको समृद्धिसंगै ओलीको कालापहाड जाने यात्रा रोकिएर खेतीकिसानी शुरु भएको छ । दश कठ जग्गामा उनले तरकारी उत्पादन गर्दै आएका छन् । ‘पहिला जुन जग्गा बाँझो राखेर कालापार जान्थे अहिले त्यही जग्गामा तरकारी उत्पादन गर्दै आएको छु ।’– ओली भन्छन्,–‘गाउँमा सिचाई आयो, बाटोघाटो बनेपछि म जस्ता कयौं गाउँलेहरु खेती किसानी गरिरहेका छौं । कालापार जान परिरहेको छैन ।’

धारापानीका भिमबहादुर बुढा (६१) ले जीवनको उर्वर समय पिठ्युमा भारी बोकेरै विताए । पूर्वी सुर्खेतको पहाडी गाउँ धारापानीसम्म सडक सञ्जाल थिए । तरकारी खेती, फलफूल, चौपायापालन र उच्च मूल्यका कृषि बस्तुका लागि प्रख्यात ठाउँ भएपनि सडक सडक सञ्जाल नहुँदा विक्रीका लागि पिठ्युमा बोकेरै शहरसम्म पु¥याउनुपर्ने बाध्यता यहाँका बासिन्दामा थियो । ‘सडक नहुँदा हाम्रा उत्पादनले कहिल्यै बजार पाएनन,’ बुढाले भने, ‘अहिले सडक पुग्यो, सहज भयो ।’

धारापानीदेखि भेरी किनारको बोटेचौर बजार पुग्न ओरोलो बाटो हिँडेर चारदेखि पाँच घण्टा लाग्छ । गाउँमा उत्पादन भएका सामाग्रीहरु ढुवानीमै प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म खर्च हुन्थ्यो । सडक अभावमा गाउँका उत्पादनले बजार नपाउँदा यहाँका अधिकांस युवाहरु कालापहाड (भारत) पस्थे । ‘सिजनमा यहाँबाट पिठ्यूँमा बोकाएर बजार पु¥याएको तरकारी ढुवानी भाडासमेत नउठाएर विक्री गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यसैले पेट पाल्नका लागि अधिकांस युवाहरु भारत जाने गरेका छन् ।

 

धारापानी सडक सञ्जालले जोडिएसँगै यहाँका उत्पादनले बजार पाउन थालेका छन् । कृषि उत्पादन खरिद गर्नका लागि व्यापारीहरु घर आँगनमै आउन थालेका छन,’ स्थानीय खिमबहादुर डाँगीले भने, ‘तरकारी, पशुपालन र अन्य उच्च मूल्यका कृषि बस्तुका लागि प्रख्यात ठाउँ भएपनि सडक सञ्जालले धारापानी ओझेलमा थियो।’ उनले सडक सञ्जालले जोडिएसँगै धारापानी समृद्धिको मार्गमा हिँड्न थालेको बताए ।

धारापानी अदुवा र टिमुरका लागि प्रख्यात मानिन्छ । यहाँको अर्गानिक टिमुर युरोपसम्म पुग्ने गरेको छ । धारापानीका भूपेन्द्रबहादुर डाँगीले अघिल्लो आर्थिक वर्ष टिमुर बेचेरै आठ लाख आम्दानी गरे । तेजपात, काउलो र चुत्राबाट १० लाख कमाए । ‘सडक नहुँदा व्यक्तिबाट प्रतिकिलो १० रुपैयाँ दिएर बोटेचौर बजारसम्म ढुवानी गरेकाले धेरै आम्दानी भने,’ उनले भने, ‘उतिबेला गाउँमै गाडी पुगेको भए टिमुरबाट मात्रै १३–१४ लाख रुपैयाँ आम्दानी हुने थियो ।’

तीन वर्षअघि संघीय सरकारले धारापानी र त्योसँग सीमा जोडिएको सल्यानसम्म सडक पु¥याउन बजेट छुट्यायो । ठेक्का प्रक्रिया पनि पूरा भयो । निर्माण कम्पनीले काम नगर्दा धारापानी सडक सञ्जालसँग जोडिएन् । संघीय सरकारको बजेटबाट सडक निर्माण नहुने देखिएपछि गुर्भाकोट नगरपालिकाले चालू आर्थिक वर्षको सुरुबाटै सडक निर्माण थाल्यो । ‘छ महिनामै हामीले धारापानीमा सडक सञ्जाल पु¥यायौं,’ मेयर हस्त पुनले भने, ‘धारापानीबासीको वर्षौदेखिको सपना पूरा गर्न स्थानीय सरकार सफल भएको छ ।’

पारेखेत–गुर्भाकोट नगरपालिका–४ मा रहेको एउटा सानो गाउँ ! यही सानो गाउँले वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना बनाएको छ । सोही योजना सम्पन्न गर्न यतिबेला स्थानीय जुटिरहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष महेश ओली बताउँछन् ।

‘पारेखेतलाई दूध उत्पादनका क्षेत्रमा चिनाउन खोज्दै छौं ।’ ओली भन्छन्—‘एउटा सानो गाउँले पशुपालनका क्षेत्रमा अब्बल काम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेर देखाउँछौं ।’ २०७५ साल भाद्र ५ गते उक्त कृषि सहकारी स्थापना भए पछि स्थानीय कृषकले दूध संकलन गर्दै आएका छन् । आर्थिक वर्ष २०७५र०७७ मा ४८ हजार लिटर दुध संकलन गरी विक्रिवितरण गरिसकेको उक्त सहकारीका सचिव हस्तबहादुर डाँगीले बताए ।

डाँगीका अनुसार, सहकारीका सदस्य एवं त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको दुध संकलन गरी विरेन्द्रनगर, खुद्रा व्यापारी हरुलाई विक्री वितरण गर्दै आइरहेका छन् । सहकारीले आफ्नो दुध संकलन कार्यलाई अझ व्यवस्थित तथा विस्तार गर्नका लागि दुध चिसान केन्द्र निमार्ण गर्दै छन् । पशु पन्छी विकाश निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले यसका लागि रु ३४ लाख सहयोग दिने भएको छ ।

अगुवा पशुपालक कृषक डाँगीले सरकारी निकायले अझै प्रोत्साहन गर्दै जाने हो भने दूधमा आत्मनिर्भर बन्ने कर्णाली प्रदेश सरकारको योजना पारेखेतले पुरा गर्ने बताए । उनी भन्छन,–‘जनप्रतिनिधिहरुले यस विषयमा सहयोग गर्नुभएकै छ । तर आगामी दिनमा हाम्रो लक्ष्यलाई साकार पार्न पशुपालनमा सहुलियत दिने योजना ल्याउनुपर्छ ।’

प्रकाशित मितिः     १७ बैशाख २०७७, बुधबार ०९:२२  |