नेपालगन्ज — नेपालगन्जमा कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ ।
१६ जना कोरोना संक्रमित भेटिएको नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ ।
शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो ।
संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनीहरू एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
जनस्वास्थ्य कार्यालयका भाइरस स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार एकै दिन यति धेरै संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । नेपालगन्जमा कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिउको छ ।
महेन्द्र पार्कका तीन संक्रमित एकै परिवारका छन् । शुक्रबार संक्रमण पुष्टि भएका डीएसपी रोडका ६० वर्षीय व्यक्तिको परिवारका सदस्यको अझै जाँच हुन बाँकी छ । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।
लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । जसकारण बाँकेसँगै छिमेकी जिल्ला पनि उच्च जोखिममा परेका छन् । नेपालगन्जमा संक्रमित भेटिएको बस्ती निकै घना छ । स्थानीय बासिन्दा लकडाउनका बेला पनि एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।
‘एक जनालाई कोरोना पुष्टि भएपछि ९० जनालाई कन्ट्याक्ट ट्रेसिङ गरियो । फेरि १५ जनामा संक्रमण देखिएपछि सयौंको ट्रेसिङ गर्नुपर्ने देखियो,’ जनस्वास्थ्य कार्यालयका स्रोत व्यक्ति श्रेष्ठले भने, ‘ट्रेसिङका लागि सोधपुछ भइरहेको छ । अवस्था तनाव भएको छ ।’
भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिहरूलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा उपचार गरिने बताए । ‘हामी तयारी अवस्थामै थियौँ । त्यसैले कोरोना पुष्टि भएपछि तत्काल उपचार सम्भव भयो,’ उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संक्रमण फैलिएपछि लकडाउनमा थप कडाइ गरिएको बनाए । सहरका चार क्षेत्र सिल गरिएका छन् । ‘कोरोनाका बिरामी थपिन थालेपछि सरकारसँग थप किट र उपकरण माग गर्ने निर्णय गरेका छौं,’ उनले भने ।