नेपालगन्ज २१ बैशाख : पाल्पाली ढाका टोपी पसल ! नेपालगन्ज मात्र होइन पश्चिम नेपालमै चर्चित छ ।
नेपालगन्ज –२ घरवारीटोल स्थित यही पसलका सन्चालक कृष्णप्रसाद कँडेलको निधन भएको छ ।
निधन पश्चात सोमबार नै राप्ती नदीमा अन्येष्टि गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
‘नेपाली ढाकाटोपीको व्यवसाय गर्दै आउनु भएका पाल्पाली ढ़ाकाटोपी पसलका संचालक समाजसेवी अत्यन्त मिलनसार मेरा अग्रज दाजु कृष्ण कंडेलको निधनले दुःखी तुल्याएको छ ।’– श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन् ।
उनको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघले शोक व्यक्त गरेको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले कँडेलको निधनबाट नेपालगन्जले एकजना असल व्यवसायी गुमाएको बताए ।
त्यस्तै बिभिन्न क्षेत्रका उद्योगी, व्यवसायी एवं सामाजिक अगुवाले उनको निधनमा शोक व्यक्त गर्दै श्रद्धान्जली दिएका छन् ।
कँडेलले २०४० साल अघि देखि ढाका टोलीको पसल सन्चालन गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए ।
उनले भने,–‘हामी भन्दा पहिल्यै उहाँले यो व्यवसाय शुरु गर्नुभएको थियो । पाल्पाली ढाका टोपीलाई पश्चिम नेपालमा चिनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’
कँडेलले सन्चालन गरेको पसलमा हरप्रकारका पाल्पाली ढाका टोपी पाईन्छ । पाल्पा निवासी कँडेलले नेपालगन्जमा आएर व्यवसाय शुरु गरेका थिए ।