नेपालगन्ज २२ बैशाख : नेपालगन्जमा कोरोनाका बिरामी एकाएक थपिँदै गएपछि सर्वसाधारणमा सन्त्रास फैलिएको छ।
सम्भावित क्षेत्रको पहिचान गरी प्रशासनले चार ठाउँमा सिल गरेको छ।
ती क्षेत्रका सर्वसाधारणलाई बाहिर निस्कन नदिने र बाहिरका व्यक्तिलाई उक्त क्षेत्रमा जान नपाइने गरी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
नेपालगन्जमा एउटै समुदायका १५ जनामा कोरोना संक्रमण भएपछि प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन्।
आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा डोरीको बार लगाएर प्रवेशमा रोक लगाएका छन्। तरकारी, फलफूल, दूध बिक्री गर्न आउनेले कोरोना सार्ने डरले प्रवेशद्वारमा डोरी र तारको बार लगाएको छ ।
सर्वसाधारणले कोरोना संक्रमण रोक्न यस्तो गरिएको दावी गरिरहँदा कयौंले भने कानून बिपरित गरिएको कार्यको बिरोध गरेका छन् ।
खजुरा र कोहलपुरका चार वटै नाका सिल प्रशासनले निश्चित ठाउँलाई सिल गरे पनि जनप्रतिनिधिले स्थानीय तह र वडालाई सिल गरेर आफ्ना मतदाताको सुरक्षित बनाउने अभियानमा लागेका छन्।
नेपालगन्जमा कोरोनाका संक्रमित बढ्दै गएपछि खजुरा गाउँपालिकाले सोमवारदेखि आफ्नो चार वटै किल्लाबाट आवतजावत हुन नपाउने गरि सिल गरेको जनाएको छ। कोहलपुरमा रत्न राजमार्ग र महेन्द्र राजमार्ग पर्ने भएकोले आउजाउ रोक्न समस्या भएको छ ।