पारेखेतमा बन्ने दुध चिस्यान केन्द्रले दुधको बजारीकरणको समस्या समाधान गर्ने


सुर्खेत २७ बैशाख : गुर्भाकोट नगरपालिका–४ पारेखेतमा वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना सहित बनेको दुध चिस्यान केन्द्रले त्यसक्षेत्रका कृषकले उत्पादनको गरेको दुधको बजारीकरणमा टेवा पुर्याउने भएको छ ।

शनिवार चिस्यान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयका लेखा अधिकृत धनप्रसाद शर्माले दुध उत्पादनमा आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले यस्तो सहायता गरिरहेको बताए ।

प्रदेश सरकारको ३४ लाखको सहयोग र बाँकी श्रम दान गरी रु ५४ लाखमा पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले उक्त चिस्यान केन्द्र बनाउन शुरु गरेको हो ।

शनिवार शिलान्यास कार्यक्रममा लेखा अधिकृत शर्मा,निर्देशनालयकै कृष्णप्रसाद चापागाई, गुर्भाकोट नगरपालिका वडा नंं ४ का अध्यक्ष प्रशन्न कुमार शर्मा, वडा नं. ९ का अध्यक्ष शशी भट्टराई, जिल्ला बचत संघका लेखा समिति संयोजक देवेन्द्र शाह, अगुवा पशुपालक कृषक ज्ञानबहादुर डाँगी लगायतले गुर्भाकोटलाई दुध उत्पादनको पकेट क्षेत्र निर्माणका बारेमा बोलेका थिए ।

सहकारीका अध्यक्ष महेश ओलीले पारेखेतलाई दूध उत्पादनका क्षेत्रमा चिनाउन दुध चिस्यान केन्द्र सहयोगी सावित हुने बताए । उनले भने—‘एउटा सानो गाउँले पशुपालनका क्षेत्रमा अब्बल काम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेर देखाउँछौं ।’

२०७५ साल भाद्र ५ गते उक्त कृषि सहकारी स्थापना भए पछि स्थानीय कृषकले दूध संकलन गर्दै आएका छन् । ओलीले सामाजिक दुरी कायम गरी शिलान्यास कार्यक्रम गरिएको र भवन निर्माणको काममा होसियारी अपनाइने बताए । सहकारीका सदस्य एवं भवन निर्माण समितिका सदस्य रोमहर्ष ओलीले सन्चालन गरेको कार्यक्रममा स्थानीय कृषकहरु सहभागि थिए ।

प्रकाशित मितिः     २७ बैशाख २०७७, शनिबार १४:५०  |