बाँके ३१ बैशाख : बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरमा रहेको बालसुधार गृहका बालबालिकामा छालारोगको संक्रमण देखिएको छ ।
एउटै हलमा कोचाकोच गरेर बसाल्ने गरिएका कारण उनीहरुमा छाला रोगको संक्रमण देखिएको हो ।
बालगृहको अनुगमन गरेर फर्किएका अधिवक्ता बसन्त गौतमका अनुसार, कोरोनाको कहरका कारण कसैको ध्यान नपुग्दा ती बालबालिकामा छाला रोग फैलिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका अधिकारकर्मीको अनुरोधमा औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्मा झण्डै ३० हजार बढीको औषधी सहयोग गरेका छन् ।
‘कोरोना कहरमा सरोकारवालाको ध्यान नपुग्दा छाला सम्बन्धी रोगले पीडित बालसुधार गृहमा रहेका २१ बालकहरु यसबाट केही हदसम्म भए पनि लाभान्वित हुने छन् ।’– गौतमले भने ।
७५ जनाको क्षमता भएको बाँकेको आसमानपुर स्थित जयेन्द्र बालसुधार गृहमा हाल एक सय जना कानूनी बिवादमा परेका बालक छन् ।
एउटै हलमा ३० जनासम्म बस्नु पर्दा छाला रोगको संक्रमण फैलिदो छ । यो सरकारी बजेटमा बनेको बालगृह हो भने एउटा गैरसरकारी संस्थालाई सीमित समयका लागि सन्चालन अनुमति दिइएको छ ।