नयाँ संक्रमितलाई बेलझुण्डी लगिने, बाँकेमा थप अस्पतालको व्यवस्थापनको तयारी


बाँके २ जेठ : बाँकेमा शुक्रवार थपिएका नरैनापुर गाउँपालिकाका ८ जना कोरोना संक्रमितलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा लगिने भएको छ । बिरामी लैजान नरैनापुरमा एम्बुलेन्स पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

‘एम्बुलेन्स पठाइसकिएको छ । आजै संक्रमितलाई बेलझुण्डी लग्छौ ।’– श्रेष्ठले भने । बाँकेमा कोरोना बिशेष अस्पतालका रुपमा रहेको खजुरास्थित क्यान्सर अस्पतालमा संक्रमित भरिन थालेपछि खाली जस्ते रहेको बेलझुण्डीमा बिरामी पठाउन लागिएको हो ।

बाँकेमा सबैभन्दा व्यवस्थित र सूविधा सम्पन्न रहेको खजुरास्थित अस्पतालमा क्षमता ४० शैयाको रहेको छ । त्यहाँ बाँकेका २५ र बर्दियाका एक गरी २६ जना संक्रमित राखिएको छ । दुबै जिल्लामा थप स्बाब परीक्षण कार्य भइरहेका कारण अरु संख्या पनि थपिन सक्ने पूर्व अनुमान गरिएको छ ।

जिल्लास्तरीय बिपद् व्यवस्थापन समितिको बैठकले सरोकारवाला निकायले कोरोना बिशेष अस्पतालको क्षमता र संख्या बिस्तार गर्न जोड दिएका छन् । यस सम्बन्धमा तयारी शुरु भएको जनस्वास्थ्यका फोकल पर्सन श्रेष्ठले बताएका छन् ।

बाँकेमा लायन्स डेन्टल अस्पताललाई आइसोलेशनका रुपमा राखिएको छ । त्यसलाई पनि थप सूविधा सम्पन्न र व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

प्रकाशित मितिः     २ जेष्ठ २०७७, शुक्रबार १५:२९  |