भेरी अस्पतालमा ओपिडी सेवा शुरु, इ-सेवा मार्फत टिकट काट्ने व्यवस्था गर्दै


भेरी अस्पतालको सूचना पढ्नुहोस्-

कोरोना भाइरस संक्रमण (COVID 19) रोकथाम तथा नियन्त्रणको निम्ति करीब २ महिना देखि हामी लकडाउनमा छौं । अस्पतालमा इमर्जेन्सी विभाग, ज्वरो क्लिनिक प्रसुती सेवा तथा अन्य आकस्मिक प्रकारका सेवा बाहेक अन्य नियमित ओपिडी सेवाहरु प्रवाहित थिएनन । करीब ७ हप्ता ओपिडी सेवाहरु अबरुद्ध हुँदा जनसमुदायले भोग्नु परेको सास्तीको निम्ति हामी क्षमाप्रार्थी छौं ।

COVID-19 ठ्याक्क यति समयमा नियन्त्रणमा आउला भनेर पुर्वानुमान गर्न कठीन छ । तत्कालै कुनै भ्याक्सिन बन्ने पनि संभावना देखिन्न। कोरोना संक्रमणलाई अन्य प्रकारका रुघाखोकी वा टिबी जस्ता नियमित किसिमको रोगको रुपमा आत्मसात गरि हामी यसैसँग अभ्यस्त हुनु पनि पर्ने हुन सक्छ। लकडाउनले संक्रमण फैलिने क्रमलाई केहि नियन्त्रित गरि हामीलाई अन्य तयारी गर्न समय दिए पनि यो आफैमा कुनै समाधान भने होइन ।

यहि अवस्थालाई हृदयंगम गर्दै साथै बिभिन्न रोगका बिरामीहरु तथा अस्पतालका अन्य सेवाग्राहीले भोग्नु परेको दुखलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ बैशाख २८ को परिपत्र तथा विभागिय प्रमुखहरु तथा अन्य चिकित्सकहरुको बैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ गते देखि नियमित ओपिडी सेवाहरु सुचारु भएको जानकारी गराउन चाहन्छौं ।

बिरामीको सुविधाको लागि यी सेवाहरु सुरु गरिए पनि बिरामी पक्ष तथा स्वास्थ्यकर्मी दुबैले सुरक्षाका उपायहरु भने अनिवार्य रुपमा अबलम्बन गर्नुपर्नेछ ।

?? अस्पतालमा आउँदा बिरामी र सँगै आउने सबैले अनिवार्य रुपमा मास्क लगाएर आउनुपर्नेछ । मास्क नलगाएका व्यक्तिहरुलाई प्रवेश गराउन अस्पताल बाध्य हुने छैन ।
?? अस्पताल परिसरमा बिभिन्न स्थानमा हात धुने सुबिधा रहेको हुँदा अस्पताल प्रवेश लगत्तै साबुन पानीले धात धुनुहोला ।
?? ओपिडी पर्चा बिहान ९:३० देखि १२ बजेसम्म बितरण हुनेछ ।
?? बिरामी परिक्षण १० बजेदेखि १ बजेसम्म हुनेछ ।
?? बिरामीहरु अनाबश्यक रुपमा ओपिडीमा गएर चिकित्सकलाई कुर्न नपरोस् भनेर ओपिडी पुर्जामा तपाई उक्त विभागको निम्ति कतिऔं नम्बरको पालोमा पर्नु भयो र चिकित्सकलाई भेट्ने अनुमानित समय टिकट पुर्जामा हेर्न सक्नुहुनेछ (संलग्न फोटोमा देखाइएको छ) ।
??ओपिडीमा आउँदा कम्तिमा पनि १ मिटरको दुरी कामय गरि लाइनमा बस्नुपर्ने छ।
?? हालको लागि प्रत्येक ओपिडीमा प्रति दिन नयाँ ३० जना र फलोअपका १० जना गरी ४० जना नबढ्ने गरि मात्र टिकट जारी गरिनेछ ।

टिकट काट्न घन्टौं काउन्टरमा लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गर्न हामी छिट्टै इसेवा मार्फत टिकट काट्न मिल्ने व्यवस्था गर्दैछौं । इसेवाको एप मार्फत आफुलाई दर्ता गरेर ओपिडी शुल्क बुझाएपछि यहाँहरुलाई एउटा कन्फरमेसन नं प्राप्त हुनेछ । सो कन्फरमेसन नं लिएर अस्पतालको छुट्टै टिकट काउन्टरमा सम्पर्क गरेर यहाँहरुले सहजतापुर्वक टिकट लिन सक्नुहुनेछ । यसबाट सेवाग्राहीले आफुले रोजेको चिकित्सक वा सम्बन्धित यूनिटको पालोमा आएर आफ्नो परिक्षण गराउन सक्नुहुनेछ । सेवा सुरु भएपछि हामी विस्तृत रुपमा जानकारी गराउने नै छौं ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७७, शनिबार २०:४२  |