नेपालगन्ज १० जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथकले नरैनापुरमै सूविधा सम्पन्न आइसोलेशन बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको दोस्रो श्रृखंला अन्तरगत आईतवार पत्रकारसंग कुराकानी गर्दै अथकले आवश्यक पूर्वाधार व्यवस्था गरेर आइसोलेशन बनाउने तर्फ सरोकारवाला निकायको ध्यानार्कषण गराएका हुन ।
जिल्ला बिपद् व्यवस्थापन समितिले एक सय १४ जना कोरोना संक्रमित र एकजनाको मृत्यु भइसकेकाले आइसोलेशन नरैनापुरमा बनाउने निर्णय भए पनि पूर्वाधार अभावको कारण देखाउँदै निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
तर दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेका बेला सामान्य स्वास्थ्य अवस्था भएका संक्रमितलाई व्यवस्थापन गर्ने गरी आइसोलेशन बनाउनुपर्ने आवाज उठिरहेको छ ।
त्यसरी बनेको आइसोलेशनमा कुनै संक्रमितलाई समस्या भए कोरोना बिशेष अस्पतालमा ल्याउनका लागि एम्बुलेन्स र चिकित्सक स्ट्याण्डबाई राख्न सकिने अथकले बताए । सोही क्षेत्रका प्रतिनिधिसभा सांसद अथकले काठमाण्डौंमा नरैनापुरका बिषयमा सरोकारवाला निकायलाई ध्यानार्कषण गराएर समस्या समाधानको पहल भइरहेको स्पष्ट पारे ।
अथकले नरैनापुरमा देखिएको समस्यामा राजनीति समेत घुसाउने काम भएको बताउँदै यस्तो बिपद्का बेला अनावश्यक काम नगर्न पनि सबैमा आग्रह गरेका छन् । प्रेस संगठन बाँकेले गरेको भर्चुअल प्रेस मिटको दोस्रो श्रृखंला आयोजना गरेको संयोजक डक्ट धितालले बताए ।