नेपालगञ्ज- बाँकेमा १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप १६ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन ।
नयाँ संक्रमितहरुमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना २१ र ३० वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्षीय पुरुष, बैजनाथ गाउँपालिकाका ६ जना २४ देखि ४६ वर्षीय पुरुष र खजुरा गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिनुभयो ।
बाँकेसहित बुधबार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाँकेसहित रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरु हुन ।

