‘कोरोना बिरुद्धको लडाइ त जितिन्छ, त्रासको लडाई कसरी जित्ने ?’


‘नर्सहरु कोरोना बिरुद्धको लडाईका फ्रन्टलाइनर योद्धा हुन ।

ज्यान जोखिममा राखेर भए पनि हामीले काम गरिरहेका छौं ।’

नर्सिङ्ग संघ बाँकेकी अध्यक्षले अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा बुटवल टुडेसंगको अन्र्तवार्तामा यस्तो भनेको केही दिनमै उनैलाई संक्रमण देखियो । अरु दिन जस्तै केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन । घरमै बसेर उनले कोरोनाका बिषयमा जिल्लामा नेतृत्वदायी भूमिका निभाइरहेका देशभरका नर्सको भर्चुअल बैठकमा सहभागिता जनाइन । बैठक सकिए लगत्तै उनलाई कोरोना पोजिटिभ भएको जानकारी दिइयो । ‘शुरुमा पत्यार नै लागेन ।’ उनी भन्छिन्–‘होइन होला भन्ने लाग्यो । तर रिर्पोट भनेको रिर्पोट नै हो मान्नै पर्यो । यत्रो सावधानी अपनाउँदा समेत कोरोना देखियो ।’

उनी खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको उपप्रमुख हुन । संक्रमण भएको थाहा हुँदासम्म कोरोना बिरुद्ध गाउँपालिकाले चलाएका हरेक अभियानमा उनले फिल्डमा खटिएर सक्रियतापूर्वक काम गरेकी थिइन । खजुराको उढरापुरमा एकजना संक्रमण देखिए पछि उनी सहित अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । त्यसमा अरुको नेगेटिभ आए पनि केसीको पोजिटिभ आएको थियो । लगत्तै परिवारका सदस्यको पनि परीक्षण गरियो । जसमा छोराछोरीको नेगेटिभ र श्रीमानको पोजिटिभ देखियो । श्रीमान नेपालगन्जका अग्रज पत्रकार हुन । उनी दुई दश भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । यतिबेला दुबैजानलाई खजुरास्थित कोरोना बिशेष अस्पतालमा आइसोलेट गरिएको छ ।

दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । ‘स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेका थिएनौं । त्यही पनि भयो । तर यतिबेला हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । पहिलाको भन्दा कुनै फरक छैन ।’– उनीहरुले भने । कोरोना रोग भन्दा समाजमा रहेको त्रसित मनोविज्ञान सबैभन्दा डरलाग्दो भएको ओली बताउँछन् । उनी भन्छन्–‘रोगसंग लड्न सजिलो छ । जितिन्छ पनि तर यसका बारेमा समाजमा फैलिएको त्रसित मनोविज्ञानसंग लड्न धेरै मुस्किल हुन्छ जस्तो लाग्यो ।’ यतिबेला आफन्तजनदेखि शुभचिन्तकले फोन गर्छन । कयौं त धरधरी रुन्छन् । सम्झाउँलान् भनेको के के न भए जस्तो उल्टो तनाव दिन्छन् । भन्छन्–‘यता हामीलाई केही भएको छैन । यता आफन्त र शुभचिन्तक रोएर हैरान छन् ।’ उनले मनोबैज्ञानिक त्रास सबैभन्दा खतरनाक भएको बताए । ‘हामीले त आवश्यक पोषिलो कुरा खाइरहेका छौं । मनोवल पनि उचो बनाएका छौं । तर त्यस्तो नगर्नेलाई त रोगले भन्दा शोकले मार्ला जस्तो लाग्यो ।’– संक्रमित पत्रकारले भने ।

कोरोना बिरुद्धको अभियानसंगै सामाजिक मनोचिकित्सासंग सम्बन्धी जनचेतना फैलाउन आवश्यक भएको उनीहरुको भनाई छ । सामाजमा संक्रमित हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यसलाई फेर्नुपर्ने बताउँछन् ।

पत्रकारले त यतिबेला सामाजिक सन्जाल मार्फत अरुलाई मनोवल उच्चा बनाइराख्छ सुझाव दिइरहेका छन् । उनले बुधवार फेसबुकमा यस्तो लेखेका छन् –
‘कोरोना बिरुद्ध लडाइँ जित्ने अस्त्र ।

उच्च मनोबल,सकारात्मक चिन्तन, प्रोटिनयुक्त खाना,ब्याम, योग, हल्का डान्स, समय समयमा तातोपानी, हटलेमन हनि, अदुवा, मरिच, टिम्मुर, बेसार, नुन अनि मह सहितको तातोपानी, तनामुक्त सोच, दैनिक तीन पटक पानीको बाफ लिने । मान्सिकरूपमा उर्जा्सिल ब्यस्तता र सबै भन्दा बढी समाजमा देखिने मनोबैज्ञानिक आतंकलाई इग्नोर गर्दै जित्न सक्ने उच्च सहास नै हो ।’

बुटवल टुडेबाट साभार

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १०:०३  |