‘क्वारेन्टाइनमा बसेकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर दिउँ’


कोरोनाको संक्रमण बढिरहेको छ । यसबाट बाँके नेपाल भरिमा सबैभन्दा बढि प्रभावित जिल्ला हो । नेकपा बाँकेले यसैलाइ मध्यनजर गर्दै यो महामारीमा जनताका समस्यासंग एकाकार हुनका लागि विभिन्न निर्णयहरू गरेको छ । त्यहि निर्णयहरू कार्यान्वयनका सन्दर्भमा म अहिले खजुरा गाउँपालिकामा पार्टीको समन्वयनकर्ताको रूपमा जनपरिचालनमा केन्द्रित भइरहेको छु ।

यसबीचमा बाँकेका खजुरा गाउँपालिका भित्र बनेका क्वारेन्टाइनहरूको स्थलगत भ्रमणबाट देखिएका केहि तथ्यहरू सार्वजनिक गर्न उपयुक्त हुन्छ भनेर प्रस्तुत गरिएको छ ।
. क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय समूदायको साथ, सहयोग र क्रियाशिलता प्रेरणादायी छ । स्थानीय युवाहरू स्वयमसेवकको रूपमा क्वारेन्टाइन व्यवस्थापनमा फ्रन्टलाइनमा रहेका छन् । म ती युवाहरू सहित क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरूको कोरोना भाइरस विमा गर्नका लागि स्थानीय सरकारसंग माग गर्दछु ।
२. वडा कार्यालय तथा सम्बन्धित क्वारेन्टाइन व्यवस्थापन समितिसंग भारतबाट आएका र आउनेहरूको तथ्यांक अपडेटेड छ । ति तथ्यांकका आधारमा क्वारेन्टाइनहरूको संख्या देखि लिएर त्यहाँ चाहिने सरसामानको अहिलेबाट नै व्यवस्थापन गर्नु जरूरी छ ।
३. क्वारेन्टाइनमा बसेकाहरू भारतबाट आएका श्रमिकहरू हुन् । उनीहरूको आर्थिक क्षमता कमजोर छ । ती युवाहरूलाइ रोजगारीका अवसरहरू प्रदान गर्न जरूरी छ । यसबारेमा तत्काल योजना बनाउनु पर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ती युवाहरूलाइ रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।
४. मजदुरीका लागि भारत गएका युवाहरू जो अहिले क्वारेन्टाइनमा छन्, उनीहरू भारतमा बेरोजगार भएको कम्तीमा ४५ दिनपछि नेपाल फर्केका हुन् भन्ने तथ्यलाइ स्मरण गर्दै उहाँहरूलाइ राहत वितरण अविलम्ब गरिनुपर्नेमा घरबाट नै खाना ल्याउनुपर्ने अवस्था रहेको छ । यसलाइ अन्त्य गर्दै तत्काल क्वारेन्टाइनमा रहेकाहरूलाइ खाना खुवाउने अभियान संचालन गर्न गाउँपालिकाले पहल गर्नुपर्दछ ।
५. क्वारेन्टाइनहरू स्कुलहरूमा छन् । क्वारेन्टाइनको भौतिक सुविधा बढाउनु भनेको स्कुलहरूको सुविधा बढ्नु हो । सरकारको क्वारेन्टाइन निर्देशिका अनुसारको क्वारेन्टाइन निर्माणको लागि अग्रसरता लिनु अहिलेको आवश्यकता हो ।
६. र अन्त्यमा, यो महामारीका विरूद्वको लडाइमा जनपरिचालनको भूमिका सबैभन्दा महत्वपुर्ण अस्त्र हो । सबैको भूमिकालाइ सम्मान गर्न तथा यथोचित जिम्मेवारी वहन गर्न म हार्दिकतापुर्ण रूपमा सम्पुर्ण पार्टी पंक्ती तथा आम समूदायमा आह्वान गर्दछु ।

मितिः २०७७ जेठ १८गते
रत्न खत्री
संगठन विभाग प्रमुख
नेकपा बाँके
तथा समन्वय कर्ता
खजुरा गाउँपालिका

प्रकाशित मितिः     १८ जेष्ठ २०७७, आईतवार १०:३८  |