नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ


तस्विर : सतिश निरौलाको फेसबुकबाट

नेपालगन्ज १८ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालका व्यवस्थापन समितिका नयाँ पदाधिकारीले आईतवार पदभारग्रहण गरेका छन् ।

भेरी अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले पदभारग्रहण पछि अस्पताल सुधारका लागि कुनै असर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

उनले अस्पताल सुधारका लागि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउँदै सहयोगको अपेक्षा गरे ।

भेरी अस्पताललाई बिशेषज्ञ अस्पताल बनाउने योजनालाई सार्थक बनाउने उनले जनाएका छन् । नयाँ व्यवस्थापन समितिले तत्कालै बैठक बसेर थप कार्ययोजना तयार गर्ने छ । तत्काल फोहोर व्यवस्थापनका विषयका छलफल भएको सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

अध्यक्ष प्रमोद धिताल राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन ।

नेकपा बाँकेको कार्यालय सदस्य एवं प्रचार विभाग प्रमुख हुन । विद्यार्थी राजनीतिबाट उदय भएका धिताल अस्पतालको समस्या र समाधानका विषयमा जानकार छन् ।

अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्ीय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन ।

व्यवसायिकसंगै सामाजिक क्षेत्रमा समेत उनले अग्रणी भूमिका खेल्दै आएका छन् ।

स्वास्थ्यकर्मी समेत रहेका धनराम ओली अस्पतालको व्यवसथापनमा राम्रो दखल राख्छन् । त्यस्तै अधिकारकर्मी सरस्वती मल्ल बाँकेमा अग्रणी महिला हुन ।

 

प्रकाशित मितिः     १८ जेष्ठ २०७७, आईतवार १८:१९  |