सुधारिएको खोरले पशुपालनमा ल्यायो परिवर्तन, कृषकको आय-आर्जन बृद्धि


  • कृष्ण चौधरी

बाँके १९ जेठ : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायमा ब्यवस्थितरुपमा वाख्रा पालन गर्न सुधारिएको खोर ब्यवस्थापन पछि चितुवाले हानी गरेको छैन ।

दिनहुँ जसो चितुवाले बाख्रा, भेडा, बाछाबाछीलाई आक्रमण गरिरहने गाभर भ्यालीमा निकुञ्जको पहलमा ५५ वटा कृषकहरुलाई ब्यवस्थित बाख्राको खोर निर्माण गरिदिए पछि चितुवाको आक्रमण शुन्य भएको स्थानीय कृषक बताउँछन् ।

खोर बनाउन सहयोग प्राप्त गरेकी सिता थारुले बाँके राष्ट्रिय निकुञ्जले आयआर्जनकालागि समुदायलाई सधै सहयोग गरेको बताईन् ।

खोर नहुँदा एकै दिनमा ३ वटा बाख्रा चितुवाले आक्रम गरेर नोक्सानी पुर्याएको त्यो दिन सम्झदै गाभर भ्यालीका अर्का कृषक तेज बहादुर रोकाया भन्छन् -अहिले गाउँभरी चितुवाले आक्रमण गर्न नसक्ने बाख्राको खोर बनेको छ । चितुवा गाउँ पस्यो भने पनि आक्रम गर्न सक्दैन ।

उनले भने निकुञ्जले हामीसँग सहकार्य गरेको छ ।

खोर मात्र नभई अन्य योजनाहरुबाट समुदाय लाभान्वीत भएको उनको भनाई छ ।

निकुञ्जको पहलमा जुवलोजिकल सोसाईटी अफ लण्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्ष १ सय ३५ वटा, र बिभिन्न वर्षहरुमा तराई भू परिधि कार्यक्रम (ताल) मार्फत २ सय वटा सुधारिएको खोर बनाइएको छ ।

जस मध्य गाभर क्षेत्रमा जुवलोजिकल सोसाईटी अफ लण्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा५५ वटा खोर निर्माण भएको हो ।

त्यसैगरी निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने देउराली हरियाली, कोहलपुर, राप्ती राजकोट, हात्तीदमार, मध्यविन्दु, ढकेरी र फुर्केसल्ली मलै लगाएतका मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका क्षेत्रमा खोर निर्माण गरिएको निकुञ्जले बताएको छ ।

देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीका अनुसार बाख्रा पालन गर्न सुधारिएको बाख्राको खोर उपयुक्त छ ।

सबै कृषकलाई ब्यवस्थित खोर सहयोग गरे बाख्रा पालनबाट कृषक लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ ।

अति प्रभावित क्षेत्रमा बाख्रा तथा बुंगुर पालन गर्ने कृषकहरुलाई सुधारिएको बाख्राको खोरसहयोग गरिएको निकुञ्जले बताएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार बन्यजन्तुबाट प्रभावित भई राहत दिनु भन्दा बन्यजन्तुबाट प्रभावित हुन नदिनकालागि बिभिन्न प्रयासहरु मध्य बाख्राको खोर निर्माण पनि महत्पूर्ण काम रहेको बताए ।

उनले भने समुदायको संरक्षणमा सहभागिता बढाउदै आयआर्जनकालगि कृषि र पर्यटन क्षेत्रलाई बढी जोड दिइएको छ ।

साथै, निकुञ्जले मानव र बन्यजन्तु बिचको सहसम्बन्ध र सह-अस्तित्व कायम गर्न संरक्षण सोचको विकासका साथै जंगल र बस्ती बिचमा जाली तारबारले घेरवार गर्ने कार्य क्रमिकरुपमा अघि बढाएको छ ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७७, सोमबार १७:१५  |