बजार खुकुलो बनाउनुपर्ने व्यवसायीको राय संघले सिडिओ समक्ष राख्यो


नेपालगन्ज २० जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार स्वागत गरेको छ ।

भर्खर जिल्ला आएका प्रमुख जिल्ला अधिकारीलाई संघले कार्यकाल सफलताको शुभकामना दिएको हो ।

स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ग समक्ष संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ध्यानार्कषणपत्र समेत दिए ।

संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्कृष्ट प्रमुख जिल्ला अधिकारीका रुपमास्वागत गर्न पाउँदा बाँकेका उद्योगी, व्यवसायी हर्षित भएको उल्लेख गरेको ।

‘बधाईका साथै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै जिल्लाको शान्ती, सुरक्षा एवं अमनचयन कायम गर्न निजीक्षेत्रका तर्फबाट सदैव सक्रियतापूर्वक सहयोग रहने दृड बिश्वास दिलाउँछौं ।’– संघले भनेको छ ।

संघले बजार खुकुलो बनाउने उद्योगी, व्यवसायीको राय प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको छ ।

‘एकातिर कोरोनाको कहर छ भने अर्को तर्फ लकडाउनका कारण उद्योग, व्यवसाय ठप्प भएका कारण उद्योगी, व्यवसायी घर न घाटको हुने अवस्था सिर्जना भएको छ ।’– संघले भनेको छ ।

उसले व्यापार नचलेपनि बैंकको ऋणदेखि सरकारलाई बुझाउनुपर्ने करहरु तिर्नुपर्ने ताकेता आउँदा व्यवसायीहरु दिनप्रतिदिन मर्कामा पर्दै गएको बताएको छ ।

नेपालगन्ज पश्चिम नेपालको आर्थिक केन्द्र हो ।

यहाँको उद्योग, व्यवसाय ठप्प हुँदै यस क्षेत्र नै प्रभावित भएको छ । लकडाउन कहिले खुल्ने भन्ने निश्चित नभएको अवस्थामा उद्योगी, व्यवसायी अझ अन्यौलग्रस्त भइरहेका छन् ।

यसबीचमा उद्योगी, व्यवसायीले लकडाउनकै बीचमा स्वास्थ्य सजगता अपनाएर बजारलाई उचित, आवश्यक बिधि र प्रक्रिया अपनाएर बजारलाई खुकुलो बनाउँदै लैजानुपर्ने विषयमा एकमत छन् ।

कोरोना महामारीबाट जोगिने गरी व्यापार व्यवसाय सन्चालन गर्न प्रशासनका तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि संघले अनुरोध गरेको प्रवक्ता टंक बहादुर धामीले बताए ।

स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्य उपस्थित थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले उद्योगी, व्यवसायीका जायज मुद्दामा साथ रहने बताए ।

बाँकेका कोरोनाको हटस्पट भएको बताउँदै तत्काल बजार खुकुलो बनाउने परिस्थीति नरहेको स्पष्ट पार्दै भने,–‘लकडाउनका मोडालिटी बारे छलफल भइरहेको छ । जेठ ३२ पछि के हुन्छ पर्खिऔं ।’

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १६:५९  |