बजार खोल्ने निर्णयबाट पछि हट्याे संघ


सुर्खेत :  भोलिदेखि सबै पसल सञ्चालन गर्ने निर्णयबाट सुर्खेत उद्योग वाणिज्य संघ पछि हटेको छ ।

जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि तत्काल पसल नखोल्ने सहमति भएको हो ।

मङ्गलवार एक विज्ञप्त जारी गर्दै संघले भोलि जेठ २१ गतेदेखि सम्पूर्ण पसलहरु सञ्चालन गर्ने घोषणा गरेको थियो ।

संघको उक्त विज्ञप्ती आएलगत्तै प्रशासनले संघका पदाधिकारीहरुसँग छलफल गरी तत्काल पसल सञ्चालन नगर्ने सहमति जुटाएको हो ।

लकडाउनले व्यवसायीहरुमा परेको प्रभाव र यसलाई सहज बनाउनका लागि आगामी दिनमा थप छलफल गर्ने र हाललाई पूर्ववत् रुपमै तोकिएको वस्तुहरुको मात्र पसल सञ्चालन गर्ने सहमति भएको प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जस अनुसार अत्यावश्यक खाद्य वस्तुका पसल हप्तामा तीन दिन विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् ।

यस्तै हार्डवेयर पसलहरु शनिवारबाहेक हरेक दिन ११ बजेदेखि ४ बजेसम्म र तरकारी, फलफूल, डेरी तथा ग्यास पसल भने हरेक दिन विहान ७ देखि ९ बजेसम्म खुल्नेछन् ।

लकडाउनले व्यवसायीहरु समस्यामा परेको र सरकारले पनि राहत प्याकेज नल्याएको भन्दै संघले मंगलवार विज्ञप्तिमार्फत शनिवारबाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न संघले सबै व्यवसायीहरुलाई आग्रह गरेको थियो ।

तर उक्त घोषणा भएको चार घण्टा नबित्दै संघ आफ्नो निर्णयबाट पछि हटेको हो ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १९:२७  |