बाँके २१ जेठ : कोहलपुर नगरपालिका–८ का अध्यक्ष रेशम खत्री क्वारेन्टाइनमा बसेका नागरिकको भोजन पकाउन साँझ /बिहान आफै खटिन्छन् ।
वडा सदस्य र अन्य राजनीतिक कार्यकर्तासंगै खत्री खाना पकाउन , तरकारी काट्न देखि खाना पस्किने काममा खटिएर कोरोना बिरुद्धको अभियानमा वडा अध्यक्षको हैसियतले खत्रीले व्यवस्थापकिय काम मात्र होइन आफै फिल्डमा खटिएका छन् ।
वडा नं. ८ मा सरस्वती मावि पिपिरीमा क्वारेन्टाइन राखिएको छ । त्यहाँ जेठ ११ गतेदेसख क्वारेन्टाइन राखिएको थियो ।
क्वारेन्टाइनमा हालसम्म ३८ जना बसेकोमा १७ जनाको पिसिआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा आउने क्रम पनि थपिएकैले वडा अध्यक्ष खत्रीलाई व्यवस्थापनको चाँजोपाँजो मिलाउन हतार छ ।
‘म मात्र होइन वडा सदस्य र राजनीतिक कार्यकर्ता सबैले खाना पकाउन जुट्नु भएको छ । स्वयं मैले खाना पकाउनेदेखि खाना पुर्याउनेसम्मको काम गरेको छु ।’ खत्री भन्छन्–‘यस्तो बिपद्का बेला हामी शासक होइन सेवक भएर काममा खटिनुपर्छ । जनताकै मतबाट अध्यक्ष भए । अहिले उहाँहरुलाई समस्या परेका बेला खाना पकाएर खुवाउँदा मलाई असाध्यै खुःसी लागेको छ ।’
कोरोनाका कारण विकास नभएको पीडाको मल्हम अहिले यसरी काम गरेर लगाइएको उनी बताउँछन् । उनी भन्छन्–‘विकास गर्दै जाउला अहिले जनताको जीवन रक्षा गरौं ।’
आफुले खाना पकाएको सुन्दा कतिपयले खिस्सी गर्ने काम गरे सुनेको बताउँदै अध्यक्ष खत्रीले भने,–‘मैले खाना पकाएको देखेर कतिपयले खिस्सी पनि गरे । तर म हाम्रा जनतालाई बिपद्का बेला जेल जस्तो गरी बस्न दिदैन । आफै खटिएर सेवा गर्छु ।’
खत्रीले सहयोग गर्नेलाई मात्र क्वारेन्टाइनमा आउन आग्रह गर्दै भने,–‘यहाँ आउनेहरु कति संख्यामा क्वारेन्टाइनमा बसेका छन् भन्दै टिपोट गर्न आउँछन् । म उहाँहरुलाई सहयोग गर्ने हो भने मात्र क्वारेन्टाइनमा आउन आग्रह गर्छु ।’
क्वारेन्टाइनका लागि आवश्यक सहयोग नपाए पनि बिद्यालयका प्रअ लगायत सबैलाई उनले धन्यवाद दिएका छन् । उनी भन्छन्–‘सदस्य, प्रअ , सरलाई धन्यवाद दिन्छु ।’
उनले सहयोग नपाएको भनेर व्यवस्थापन कमजोर बनाउन नहुने भन्दै खत्रीले स्थानीय स्रोत साधन प्रयोग गरी व्यवस्थापन तर्फ लाग्न आग्रह गर्छ । खत्री नेकपाबाट निर्वाचित अध्यक्ष हुन ।
नेकपा, नेपाली काँग्रेस, बिभिन्न व्यक्तिहरु, सामुदायिक वन लगायत सहयोगीहरुलाई खत्रीले धन्यवाद दिएका छन् ।