आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका युवकको मृत्यु, पिसिआर परीक्षण गर्दा कोरोना देखियो


सुर्खेत २३ जेठ : क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ ।

पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।

हिजो दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए ।

बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए ।

योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार ०९:०८  |