कर तिर्ने ढोका खुल्ला


नेपालगन्ज २६ जेठ :  सरकारले असार ७ गतेभित्र सबै प्रकारका कर बुझाउन समय दिएको छ ।

कर बुझ्न आन्तरिक राजश्य कार्यालय, मालपोतदेखि स्थानीय तहसम्म करदाता पर्खेर बसेका छन् ।

सकभर अनलाइन प्रविधिबाट कर तिर्नुपर्ने अन्यथा हार्ड कपीनै लिएर जानुपर्ने अवस्था आए सामाजिक दुरी कायम गर्दै कर बुझ्ने, बुझाउने काम नियमित गर्ने तयारीमा ती कार्यालयहरु छन् ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि कर संकलनको कामलाई नियमित गर्दैछ ।

उसले राजश्व संकलनको कामलाई अनलाइनबाट गर्ने गरी प्राथमिकतामा राखेको छ ।

तर हार्डकपी नलगी नहुने अवस्थामा भने सामाजिक दुरी, सेनेटाइजर प्रयोग जस्ता स्वास्थ्य सुरक्षा उपाय अपनाएर कामलाई नियमितता दिने तयारी भइरहेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी नवराज पराजुलीले बताए ।

यता स्थानीय तहले पनि करको ताकेता गरेका छन् ।

करदाताको संख्या अधिक रहेको नेपालगन्ज उपमहानगरपालिका सार्वजनिक सूचना जारी गरी कर बुझाउन आउन आग्रह गरेको छ ।

कोरोना भाईरसको कारण देश लकडाउन भै उप—महानगरपालिकाबाट दैनिक रुपमा संकलन गरिने राजश्व संकलन कार्य चैत ११ गतेदेखि बन्द रहेकोमा नगरकार्यपालिकाको जेठ १८ गतेको निर्णयानुसार जेठ १९ गतेदेखि खुला गर्ने निर्णय भए अनुसार यस उप—महानगरपालिकाको राजश्व शाखाबाट सञ्चालन हुने सम्पूर्ण कार्यहरु सूचारु भएका छन् ।

सेवा लिन आउने सेवाग्राहीले कम्तीमा १ मीटरको दुरी कायम गरि मास्क तथा सेनिटाईजरको प्रयोग गर्नुका साथै आबश्यक खुद्रा रकमको ब्यवस्था स्वयंले लिएर आउन उपमहानगरले आग्रह गरेको छ ।

यता लामो समयदेखिको लकडाउनको कारण उद्योग, व्यवसाय सन्चालन नभएको अवस्थामा कर तिर्न नसकिने भन्दै निजी क्षेत्रले आक्रोस व्यक्त गरिरहेको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार ०७:५३  |