असार १५ बाट होटल खोल्न सुझाव


काठमाडौं । सरकारले असार १५ बाट होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै १७ गते आन्तरिक उडान र भदौ १ गतेदेखी अन्तर्राष्ट्रिय उडान खुला गर्ने गरि लकडाउन खुकुलो बनाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई यस्तो सुझाव दिएको हो ।

मन्त्रिपरिषदको बैंठकले लक डाउन खुकुलो बनाउने मापदण्डहरु बनाएर ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । सोहि अनुरुप पर्यटन मन्त्रालयको तर्फबाट असार १५ गतेबाटै होटलको केहि सेवाहरु सुचारु गर्न सुझाव दिएको छ ।

होटल भित्र पर्ने चमेनागृह, चिया पसलहरु र रेष्टुरेन्टहरुलाई सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिनु पर्ने पर्यटन मन्त्रालयको जोड छ । यस्तै असार १७ गतेबाट आन्तरिक उडान गर्ने प्रस्ताव पनि उच्चस्तरीय समितिलाई दिएको छ ।

सामाजिक दूरी कायम राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित सबै विमानस्थलमा मार्किङ गरिएको छ । आवश्यक सुरक्षाका तयारीहरु समेत पुरा भएकोले सरकारले निर्णय गर्नेवित्तिकै उडानका लागि तयारी अवस्थामा रहेको सुझावमा दिइएको छ ।

आन्तरिक उडान खुला गर्ने विषयमा प्राधिकरणले वायुसेवा सञ्चालकहरु बीच छलफल तिब्र पारेको छ । प्राधिकरणले अहिले एउटा जहाजमा ४० प्रतिशत मात्र यात्रुहरुलाई एक पटकमा उडान गर्न प्रस्ताव राखेको छ । तर, वायुसेवा सञ्चालकहरुले भने यो विषयमा असन्तुष्टी जनाउदै सामाजिक दूरी कायम गरेर सञ्चालन गर्ने बताउदै आएका छन् ।

प्राधिकरणले विमानस्थलमा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डहरु बनाइसकेको छ । यस्तै एयरलाइन्सहरुले पनि स्वास्थ्य निर्देशिकाहरु बनाइसकेको छ । निर्देशिका अनुसार जहाजमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, ज्वरो र रुघाखोकी लागेको विरामीहरुलाई यात्रा नगराउने उल्लेख छ । यस्तै जहाजमा शौचालय बन्द गरिएको छ भने पानी पनि नदिइने भएको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार १७:३३  |