बोइलरको मासु सारै महङ्गो


नेपालगञ्ज, जेठ २६ गते । बन्दाबन्दीको बहानामा नेपालगञ्जमा खाद्यान्न, मासुलगायत अत्यावश्यक वस्तुहरूमा समेत अत्यधिक मूल्य वृद्धि गरिएको छ । सरकारले कालोबजारी र मूल्य वृद्धि नगर्न कडा निर्देशन जारी गरेपनि स्थानीय व्यवसायीले भने मनपरी मूल्य असुल गरिरहेको पाईएको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि कुखुरा र खसीको मासुमा गरिएको स्थानीयले गुनासो गरेका छन् । एक महिना पहिलेसम्म ३०० रुपियाँ किलोमा पाइने कुखुराको मासुमा अत्यधिक मूल्य वृद्धि गरेर अहिले ४०० देखि ४५० रुपियाँ किलोसम्म बिक्री गरिरहेको पाइएको छ । यस्तो मनपरी गर्नेलाई कारवाही समेत गरिएको वाणिज्य कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए ।

बन्दाबन्दीको बहानामा बजारमा हरेक बस्तुको मूल्य मनपरी तरिकाले वृद्धि गरिएको पाइएको उपभोक्ता मञ्च बाँकेका संयोजक बसन्त गौतमले बताए । उनले जताततैबाट मूल्यवृद्धि गरिएको र कालोबजारी भैरहेको जानकारीहरू आइरहेको बताए । स्थानीय प्रशासनसँग बजार अनुगमनका लागि माग गरिएको पनि बताए ।

केही दिनअघि गरिएको बजार अनुगमनका क्रममा नेपालगञ्जका तीनवटा औषधि व्यवसायीलाई मनपरी मूल्यवृद्धि गरेकोमा २–२ लाख जरिवाना गरिएको थियो भने महँगोमा धानको बीउ बिक्री गर्ने एक एग्रोभेटलाई पनि २ लाख रुपियाँ जरिवाना गरिएको थियो । यस्तै मूल्यसूचि नराख्ने र मूल्यमा एकरुपता नगर्ने एक हार्डवेयरलाई ६० हजार र बासी खान अयोग्य कुखुराको मासु बिक्री गर्ने सगरमाथा पोल्टरी सप्लायर्सलाई २० हजार रुपियाँ जरिवाना गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले अब जिल्लामा मूल्य वृद्धि, कालो बजारी र तस्करी हुन नपाउने जनाउँदै यस्तो अवैध काम गर्ने सबै कारवाहीमा पर्ने बताए । उनले वाणिज्य कार्यालयलाई निरन्तर अनुगमनका लागि निर्देशन दिईसकिएको जनाउँदै परिणाम पनि छिटै आउने जानकारी दिए ।

प्रकाशित मितिः     २६ जेष्ठ २०७७, सोमबार १७:२१  |